अमेरिकाको देउसीको दक्षिणाले शिविरका बालबालिकालाई शिक्षा

डिसी नेपाल
२६ कार्तिक २०७८ ९:०५

कोलम्बस । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले देउसी भैलो खेलेर उठेको रकमले पूर्वी नेपालको शरणार्थी शिविरमा रहेका बालबालिकाको शिक्षामा सहयोग गर्ने भएको छ। शिविरमा रहेका आर्थिकरुपमा बिपन्न बालिबालिकालाई सहयोग गर्ने उदेश्यले फाउन्डेसनले ओहायोको राजधानी कोलम्बस र आसपासका क्षेत्रमा देउसी भैलो कार्यक्रम आयोजना गरेको थियो।

‘देउसी भैलो खेलेर झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविर र मोरङको पथरीस्थित शिविरमा रहेका बालबालिकाको शिक्षामा सहयोग गर्ने पवित्र उदेश्यले हामीले यो कार्यक्रम गरेका थियौ’ इन्ट्रा फाउन्डेसनका बोर्ड अफ डिरेक्टर केशब आचार्यले भने ‘दक्षिणा स्वरुप संकलित रकम अर्को साता नेपाल गएर उचित ढंगले सहयोग गर्ने छौ।’

उनका अनुसार सहयोगका लागि इन्ट्राका अध्यक्ष डिल्ली अधिकारीको नेतृत्वमा ९‐१० जनाको टोली नेपाल जाने तयारीमा छ। फाउन्डेसनले शरणार्थी शिविरमा रहेका बिधार्थीका लागि नियमितरुपमा सहायता प्रदान गर्दै आएको छ। यस वर्षकोे तिहारको अवसरमा फान्डेसनका अध्यक्ष अधिकारीका घरमा भव्यरुपमा देउसी भैलो कार्यक्रम आयोजना गरिएको थियोे। डिल्ली भुटानी नेपाली समुदायका कहलिएका ब्यबसायी तथा समाजसेबी हुन्।

नोभेम्बर ५ र ६ तारिखका दिन ओहायोको राजधानी कोलम्बस नजिकैको शहर ब्लाकलिकस्थित उनको घरमा ख्यातिप्राप्त कलाकार सम्मिलित देउसी भैलो कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा अरुण उपत्यका सांस्कृतिक समुहका अध्यक्ष तथा पूर्वेली लोकगायनका हस्ती नविन खड्कादेखि भुटानी नेपाली गायक गायिकाहरु किशोर शिवाकोटी, टेक दुधराज, बिष्णु रामदाम, सुचिता गुरुङ, मन्जु लामालगायतले तिहारका गीत गाएका थिए।

स्थानीय कलाकारहरुले नृत्य पनि प्रस्तुत गरेका थिए। तिहारका गीतसँगै भट्टाइएको देउसुरे भाकाले उपस्थित सयभन्दा बढी अमेरिकाबासी भुटानी नेपालीमाझ तिहारको छुट्टै रौनकता छाएको देखिन्थ्यो। कार्यक्रममा नेपाली चलचित्रका नायक दिलीप रायमाझीको समेत उपस्थिति थियो।

कोलम्बस शहरसगै इन्ट्राका ओहायो राज्यका शाखाहरु सिन्सिनाटी, एक्रोन, क्लिभ्लेण्ड शहर त्यसैगरी पेन्सिलभेनिया, मिसिगन, आयोया, मिनेसोटा राज्यका शाखा कार्यालयले समेत देउसी भैलो खेलेर रकम संकलन गरेको छ।

इन्ट्रा फाउन्डेसनले नेपाली गीत संगीत, खेलकुदजस्ता क्षेत्रमा विदेशी भूमिमा प्रवद्र्धन गर्न लागिपर्दै आएको छ । गीतसंगीतका प्रतिभालाई प्रोत्साहित गर्ने मेरो भ्वाइस कप युएसए, नृत्य प्रतिभालाई प्रोत्साहन दिएर अगाडि ल्याउने मेरो डान्स कप युएसएको आयोजना यही संस्थाले गर्दै आएको छ । भलिबल लगायतका बिभिन्न खेलका ठुला प्रतियोगितामा समेत इन्ट्राको उल्लेखनीय उपस्थिति रहदै आएको छ।

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *