एमाले जिल्ला बैठक बहिष्कार गरेका मेयर द्वारिकलालले माधव नेपाललाई दिए लन्च पार्टी

डिसी नेपाल
२६ कार्तिक २०७८ १४:५८

काठमाडौं।नेकपा एमाले सुनसरीका नेता तथा इटहरीका मेयर द्वारिकलाल चौधरीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई लन्च पार्टी दिएका छन् ।एमाले सुनसरीको नेतृत्वकाबारेमा असन्तुष्ट चौधरीले शुक्रबार नेकपा ( एस ) का अध्यक्ष नेपाल, प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलगायत नेकपा ( एस ) का नेतालाई घरमा भोज खुवाएका हुन् ।चौधरीले आफ्नो इटहरी लबिपुरस्थित घरमा खसीको मासु, लोकल कुखुराको मासु र माछाका विभिन्न परिकारले सत्कार गरेका हुन् ।

उनले स्वागत गर्दै इटहरी उपमहानगरभित्र बाढीको समस्या, छ लेन सडकमा भएको अवरोध तथा अन्य विषयमा लिखित ध्यानाकर्षण पत्रसमेत नेपाललाई र मुख्यमन्त्री राईलाई दिएका थिए ।दुई दिनअघि मात्र उनले एमाले जिल्ला कमिटी सुनसरीको बैठक विधि, पद्धतिअनुसार नचलेको भन्दै माइक खोसेका थिए । उनले बैठकमा केन्द्रीय नेताहरूको हस्तक्षेप भएको विषयलाई लिएर बहिष्कार गरेका थिए । बहिष्कार गरे पनि एमालेको रेवती भण्डारी र रमेश बस्नेत पक्षले नेतृत्व गरेको समूहको बैठक खेमराज पोखरेलको अध्यक्षतामा बसेको थियो।

चौधरीले एमालेमा आफू असन्तुष्ट रहेको सन्देश दिने गरी बिहीबार मात्र समाजवादीका प्रदेश १ अध्यक्ष एवम् उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीसँग खाना खाएको फोटो भिडियो सामाजिक सञ्जालमा हालेका थिए ।समाजवादीको इटहरी नगर कमिटीको फेसबुकवालमा पनि चौधरी र इटहरी उपमहानगरपालिका ४ का अध्यक्ष चन्द्र भट्टराईले एमाले छाड्ने उल्लेख गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *