एमाले महाधिवेशन प्रतिनिधि चयन: रुपन्देहीमा चुनावको सम्भावना

डिसी नेपाल
२७ कार्तिक २०७८ २०:३०

बुटवल । महाधिवेशन प्रतिनिधिका लागि आकांक्षी धेरै भएपछि रुपन्देहीमा सर्वसम्मतको प्रयास असफल हुँदै गएको छ । पाँचवटा संघीय निर्वाचन क्षेत्र रहेको रुपन्देहीबाट ३३ जना प्रतिनिधि छानिँदै छन् । यसका लागि एक सय भन्दा बढीले मनोनयन दर्ता गराएका छन् ।

धेरैजनाले छोड्नै नचाहेकाले निर्वाचनको सम्भावना बढेको एमाले जिल्ला प्रचार विभाग प्रमुख मोहन चापागाईंले बताए । ६ जना प्रतिनिधि छानिने रुपन्देही–१ मा ३१ जनाले मनोनयन दर्ता गराएका छन् । खुला चार जनाका लागि २४ र महिला दुई जनाका लागि सात जनाले मनोनयन दर्ता गराएको चापागाईंले बताए ।

त्यस्तै सात हजार संगठित सदस्य रहेको रुपन्देही क्षेत्र नम्बर २ बाट खुलातर्फ आठ र महिला तीन गरी ११ जना प्रतिनिधि चयन हुनेछन् । यसका लागि ५२ जनाले मनोनयन दर्ता गराएका छन् । पार्टीका उपमहासचिव विष्णु पौडेलको निर्वाचन क्षेत्र रहेकाले पनि यो क्षेत्रमा आकांक्षी धेरै देखिएका हुन् ।

त्यस्तै क्षेत्र नम्बर ३ मा ३१ जनाले मनोनयन दर्ता गराएका छन् । यहाँबाट खुला चार र महिला दुई गरी ६ जना प्रतिनिधि चयन हुँदैछन् । सबैभन्दा कम अर्थात् तीन जना मात्रै प्रतिनिधि चयन हुने क्षेत्र नम्बर ४ मा भने सर्वसम्मत हुने देखिएको छ ।

त्यस्तै क्षेत्र नम्बर ५ मा १२ जनाले मनोनयन दर्ता गराएका छन् । यो क्षेत्रबाट खुला चार र महिला एक गरी पाँचजना प्रतिनिधि चयन हुँदैछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *