दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपुतका ६ जना आफन्तको एकैपटक मृत्यु

डिसी नेपाल
३० कार्तिक २०७८ १३:३७

काठमाडौं। दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपुतका ६ जना आफन्तको एकैपटक मृत्यु भएको छ । बिहारको लखीसरायमा भएको सडक दुर्घटनामा उनीहरुको मृत्यु भएको भारतीय मिडियाले जनाएका छन् । यी सबै एउटा दाहसंस्कार कार्यक्रममा सहभागी भएर सुमो गाडीमा जामुइ फर्किरहेका थिए । बाटोमा उनीहरुको गाडी ट्रकसँग ठोक्किएको हो ।

दुर्घटना लखीसराय जिल्लाको सिकंदरा–शेखपुर एनएच–३३३ मा हलसी थाना क्षेत्रको पिपरा गाउँमा मंगलबार बिहान भएको हो । ट्रकसँग भएको ठक्करमा एकै परिवारका ६ जनाको मृत्यु भयो । ४ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको जमुइ सदर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परेका १० जना पटनामा दाह संस्कारमा सहभागी भएर जमुइ फर्किरहेका थिए ।

जानकारी अनुसार जमुइ जिल्लाको खैरा थाना क्षेत्रको सगदाहा गाउँका लालजीत सिंहकी पत्नी गीता देवीको दाहसंस्कारमा सहभागी भएर एकै परिवारका १० जना सुमो गोल्ड गाडीमा गाउँ फर्किरहेका थिए । दुर्घटनामा गीता देवीका पति लालजीत सिंह, जेठा छोरा अमित शेखर, कान्छा छोरा रामचन्द्र सिंह, छोरी देबी देवी, भान्जी अनिता देवी र चालक प्रितम कुमारको मृत्यु भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमध्ये लालजित सिंह दिवंगत अभिनेता सुशान्त सिंह राजपुतका भिनाजुका भिनाजु थिए । सुशान्तका भिनाजु हरियाणमा पुलिसको उच्च पदमा छन् । उनको नाम ओमप्रकाश सिंह हो । ओमप्रकाश सिंहकी दिदी गीता देवीको दाहसंस्कार गरेर उनीहरु पटनाबाट जमुइ फर्किरहेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *