बेलायती प्रधानमन्त्री जोनसनका पितामाथि सांसद र पत्रकारलाई यौन उत्पीडन गरेको आरोप

डिसी नेपाल
१ मंसिर २०७८ १४:४५

काठमाडौं। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनका पिता स्टेनली जोनसनमाथि २ महिलाहरुले यौन उत्पीडनको आरोप लगाएका छन् । यी दुईमध्ये एक महिला कन्जरभेटिक पार्टीको तर्फबाट सांसद हुन् । अर्की महिला पत्रकार हुन् । दुवै घटनाहरु पुराना हुन् तर अहिले मात्र सार्वजनिक भएका हुन् । स्टेनली यसअघि पनि विवादमा पर्ने गरेका छन् । उनी स्वयं पनि राजनीतिज्ञ हुन् र विश्व बैंकसँग पनि आबद्ध छन् ।

कन्जर्भेटिभ पार्टीकी सांसद क्यारोलिन नोक्स बेलायती संसदमा महिलासँग सम्बन्धित एक समितिकी सदस्य पनि हुन् । नोक्सले स्काइ न्यूजसँग कुरा गर्दै बेलायती प्रधानमन्त्रीका पितामाथि यौन उत्पीडनको आरोप लगाएकी हुन् । नोक्सका अनुसार उनलाई स्टेनलीले कलन तरिकाले हात लगाएका थिए । पछि एक महिला पत्रकारले पनि स्टेनलीमाथि यस्तै गम्भीर आरोप लगाएकी छिन् ।

नोक्सले भनिन् ‘मेरो हिसाबले स्टेनली एक चर्चित व्यक्ति हुन् । जुन बेला यो घटना भयो त्यतिबेला स्टेनली डेभोन क्षेत्रमा कन्जर्भेटिभ उम्मेदवार थिए । उनले मलाई गलत तरिकाले छोए र यो अभद्र व्यवहार गरेर त्यहाँबाट गए । उनले अश्लील कमेन्ट पनि गरेका थिए ।’ नोक्सका अनुसार घटना पार्टीको वार्षिक बैठकका क्रममा २००३ मा भएको थियो । त्यतिबेला उनीहरु दुवै सांसदको चुनाव लड्दै थिए । त्यतिबेला नोक्सको उमेर करिब ३० वर्ष थियो ।

नोक्सको गम्भीर आरोपपछि न्यू स्टेट्सम्यानकी बरिष्ठ पत्रकार एलिबे रेले पनि यस्तै किसिमको आरोप लगाएकी छिन् ।उनले सामाजिक संजालमा आफ्नो कुरा राखेकी छिन् । उनले भनेकी छिन् ‘२०१९ मा कन्जरभेटिभ पार्टीको सम्मेलन भएको थियो । यस क्रममा स्टेनलीले पनि मसँग यस्तै किसिमको दुर्व्यवहार गरेका थिए । म नोक्सप्रति आभारी छु कि उनले मलाई सत्य खुलस्त गर्न हिम्मत दिइन् । हामीलाई हरेक शक्तिशाली व्यक्तिको गलत हर्कतविरुद्ध बोल्ने हक छ, त्यो व्यक्ति प्रधानमन्त्रीको पिता नै किन नहोस् ।’

नोक्सको आरोपबारे स्टेनलीले भने ‘मलाई त नोक्सको बारेमा केही पनि याद आउँदैन तर सबै यस्तै गरी चलिरहन्छ । त्यसैले म कुनै जवाफ दिन चाहन्न ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *