जिल्ला कारागार रौतहटमा कैदीले शौचालयभित्र गरे आत्महत्या

डिसी नेपाल
१ मंसिर २०७८ १६:१९

काठमाडौं । रौतहटस्थित जिल्ला कारागारको शौचालयभित्र कैदीले आत्महत्या गरेका छन् । जिल्लाको देवाही गोनाही नगरपालिका–७ का लडाइ साह कारागार भित्रको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

अपहरण, शरीर बन्धक तथा जबर्जस्ती करणी मुद्दामा २१ वर्ष कैद सजाय भुक्तान गरिरहेका साहले बुधबार आत्महत्या गरेका हुन् । २०७६ वैशाख ४ मा कारागार चलान भएका थिए । साहले तौलियाको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको र जिल्ला अस्पताल गौरमा लैजादै गर्दा बाटोमा मृत्यु भइसकेको प्रहरीले जनाएको छ । उनको मृत्युबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

हिरासत तथा कारागारमा कैदी बन्दीहरुले आत्महत्या गर्न थालेको भन्दै गृहमन्त्रालय एक महिना अघि मात्रै त्यसको न्यूनिकरणका लागि अध्ययन समिति बनाएको थियो । गृह मन्त्रालयले तीन स्थानका हिरासत कक्ष तथा कारागारमा भएको आत्महत्यासम्बन्धि छानबिन गर्न बनाएको समितिले गत कात्तिक २३ गते प्रतिवेदन बुझाएको थियो ।

छानबिन समितिका संयोजक सहसचिव थानेश्वर गौतमले गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको प्रतिवेदनमा कारागार र हिरासत कक्षमा हुने आत्महत्या कम गर्न कैदी बन्दीलाई मनोसामाजिक परामर्श दिनुपर्ने, थुनुवालाई निःशुल्क कानुनी परामर्श दिनुपर्ने, हिरासत कक्षमा सुरक्षा निगरानी गर्नु पर्ने, हिरासत कक्षमा राखिएका सीसीटीभीलाई रेकर्डिङ र मोनिटरिङ गर्ने व्यवस्था गर्नुपर्ने लगायतका सुझाव उल्लेख छ ।

सो समितिमा नेपाल प्रहरीका एसपी प्रविण पोखरेल, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विकास पाण्डे र कारागार व्यवस्थापन विभागका शाखा अधिकृत गणेश गौतम सदस्य रहेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *