करको दर भन्दा दायरा बढाऔँः वरिष्ठ उपाध्यक्ष ढकाल

डिसी नेपाल
१ मंसिर २०७८ १७:५१

झापा । करको दायरालाई अहिलेको तुलनामा अझ धेरै फराकिलो बनाएर कसरी बढीभन्दा बढी मानिसमा पुर्‍याउन सकिन्छ भन्ने बारेमा लाग्नुपर्ने नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् ।

दसौँ राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व कार्यालय विर्तामोड तथा विर्तामोड उद्योग वाणिज्य सङ्घद्वारा आज दमकमा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ढकालले करको दायरालाई धेरै नागरिकसम्म पुर्‍याउने र निर्यातमुखी राजस्व प्रणालीको विकासका लागि सोच्नुपर्ने बताए । उनले अहिले आयातबाट ४८ प्रतिशत राजस्व रहेको तथ्याङ्क देखिएको भन्दै यसरी आयातमा आधारित राजस्वको हिस्सालाई क्रमशः कम गर्दै लैजानुपर्ने बताए । उनले भने, “यो आयातमा आधारित राजस्व प्रणालीलाई क्रमशः कम गर्दैै लगी निर्यातमुखी राजस्व प्रणालीको विकासमा अर्थतन्त्रको पुनर्संरचना गर्नुपर्छ ।”

उनले आन्तरिक उत्पादनमा वृद्धि र स्वदेशी उद्योगको स्थापना गर्दै आयकर, मूल्य अभिवृद्धिकर लगायतको हिस्सा बढाउनुपर्ने सझुाव दिए । कर प्रशासनलाई सेवाग्राहीमैत्री बनाई करको दायरा बढाउन सकिने उल्लेख गर्दै उनले कर प्रशासनले ल्याउने कार्यक्रममा निजी क्षेत्रले सधैँ साथ र सहयोग पुर्‍याइरहेको बताए । आफूले पनि करदाताका रुपमा पटकपटक सम्मान पाएको स्मरण गर्दै उनले भने, “करदातालाई सम्मानित गर्ने कार्यक्रमले आन्तरिक प्रतिस्पर्धा बढाउनेछ र अर्को वर्ष थप कर तिर्ने तथा राज्यलाई योगदान दिने वातावरण सिर्जना हुनेछ ।” उत्कृष्ट करदातालाई गरिने सम्मानले निजी क्षेत्रबीच स्वस्थ प्रतिस्पर्धा तथा कर बुझाउन उत्प्रेरणा बढ्ने उनको धारणा थियो ।

राज्यको प्रमुख आम्दानीको स्रोत राजस्व भएको उल्लेख गर्दै निजी क्षेत्रले आफू पीडामा रहेको र कानुनी बाध्यता नभएको अवस्थामा पनि राज्यका गतिविधि रोकिनु हुँदैन भनेर कर बुझाउने गरेको स्मरण गरे । गत वर्ष सर्वोच्च अदालतले ‘कोभिडका कारण भएको लकडाउनका बेला कर असुल नगर्नू र लकडाउन खुलेपछि मात्र कर तिर्ने व्यवस्था मिलाउनू’ भन्ने आदेश दिए पनि आफूहरुले कर तिरेको र कर तिरौँ भनेर सार्वजनिक आह्वान नै गरेको उनको भनाइ छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *