भोजपुरको तुर्के पुल–फालिदोबाटो सडक: १४ किमी कालोपत्र सम्पन्न, निर्माण अन्तिम चरणमा

डिसी नेपाल
२४ असार २०८३ ८:०९

भोजपुर। भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन ‘तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो’ सडक कालोपत्रको काम अन्तिम चरणमा पुगेको छ। कुल २० किलोमिटर लम्बाइ रहेको उक्त सडकमध्ये हालसम्म १४ किलोमिटर खण्डमा कालोपत्र गर्ने कार्य सम्पन्न भइसकेको छ।

पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार सडक निर्माणको हालसम्मको भौतिक प्रगति करिब ८३ प्रतिशत रहेको छ। विसं २०७७ मा ५१ करोड ६२ लाख रुपैयाँको लागतमा सम्झौता भई सुरु भएको यस आयोजनामा गुणस्तरलाई उच्च प्राथमिकता दिइएको कार्यालयले जनाएको छ।

प्रमुख रेड्डीले भने, “हामीले प्राविधिक मापदण्डअनुसार अस्फाल्ट प्रविधिको प्रयोग गरी सडक कालोपत्र गरिरहेका छौँ। कामलाई गुणस्तरीय ढङ्गले समयमै सम्पन्न गराउन निरन्तर प्राविधिक अनुगमन भइरहेको छ।”

षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले यस सडकलाई स्थानीय विकासको मेरुदण्डका रूपमा व्याख्या गरेका छन्। सडक कालोपत्रको कार्यले स्थानीय बासिन्दामा ठूलो उत्साह छाएको छ। प्रमुख उदासले भने, “सडक पूर्वाधार विकासको मुख्य आधार हो। यो सडक पूर्ण रूपमा सञ्चालनमा आएपछि यस क्षेत्रको आर्थिक, सामाजिक तथा शैक्षिक गतिविधिमा सकारात्मक परिवर्तन आउनेछ।”

वर्षौँदेखि कच्ची सडकका कारण सास्ती खेप्दै आएका स्थानीय बासिन्दा अहिले खुसी देखिएका छन्। स्थानीय देवीराम चौलागाईँले सडक निर्माणले आवातजावतमा सहजता ल्याउनुका साथै ढुवानी खर्च र समयको बचत हुने बताए। उनले भने, “पहिले निकै कठिन थियो, अब सडक बनेपछि ठूलो राहत मिल्ने भएको छ।”

सडक निर्माण सम्पन्न भएसँगै षडानन्द नगरपालिका र आसपासका क्षेत्रका बासिन्दाले नियमित, सुरक्षित र सहज यातायात सेवा पाउनेछन्। यस आयोजनाले व्यापार, कृषि, शिक्षा, स्वास्थ्य तथा पर्यटन क्षेत्रमा नयाँ आयाम थप्दै समग्र क्षेत्रीय विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *