जग्गा विवादमा चक्कु प्रहार : रौतहटको औरैयामा एक जनाको मृत्यु, दुई जना पक्राउ
सांकेतिक तस्बिर
रौतहट। रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गाको स्वामित्व सम्बन्धी विवादका क्रममा भएको चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
मंगलबार राति करिब ८ बजे स्थानीय रामबहादुर साह, बुटन साह तथा रामऔतार साह र उनका छोरा रामेश्वर साहबीच जग्गाको स्वामित्वको विषयलाई लिएर भनाभन भएको थियो। सामान्य भनाभनले उग्र रूप लिएपछि दुवै पक्षबीच कुटपिट भएको प्रहरीले जनाएको छ।
विवाद चर्किंदै जाँदा रामेश्वर साहले बुटन साहमाथि चक्कु प्रहार गरेका थिए। चक्कु बुटन साहको ढाडमा लाग्दा उनी गम्भीर घाइते भएका थिए। घाइते बुटन साहलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्याइएको थियो। तर उपचारकै क्रममा राति करिब ९ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त गौतमले जानकारी दिए।
घटनाका क्रममा रामबहादुर साहको टाउकोमा समेत चोट लागेको छ। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले चक्कु प्रहारमा संलग्न रहेको आरोपमा रामेश्वर साह तथा उनका पिता रामऔतार साहलाई नियन्त्रणमा लिएको छ। घटनामा प्रयोग भएको चक्कु समेत प्रहरीले बरामद गरेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार घटनाको कारण, संलग्न व्यक्तिहरूको भूमिका तथा अन्य पक्षबारे विस्तृत अनुसन्धान भइरहेको छ। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको प्रहरीले जनाएको छ।
प्रहरीले जग्गा सम्बन्धी सामान्य विवादले हिंसात्मक रूप लिँदा मानवीय क्षति भएको भन्दै स्थानीयलाई कानुनी प्रक्रियामार्फत विवाद समाधान गर्न आग्रह गरेको छ।






डिसी नेपाल





Facebook Comment