राप्रपा महाधिवेशनः पुरानालाई सम्मान, नयाँलाई नेतृत्व

सम्भव सिंह ठकुरी
२ मंसिर २०७८ ११:०२

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन आगामी मंसिर ११ गते देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ। राप्रपालाई अधिवेशनको रौनक जति लागेको छ। त्यति नै नेतृत्वको रस्साकस्सी पनि चलेको छ। पार्टी नेतृत्वको दौडमा वर्तमान अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी तीब्र रुपमा लागेका छन्।

यसका साथै पार्टीका दोस्रो पुस्ताका नेता तथा पार्टीभित्र युवा नेताको प्रतिनिधित्व गर्दै आएका नेता राजेन्द्र लिङ्देन र डा.धवलशमशेर राणाले पनि पार्टी नेतृत्वको दावी गरिराखेका छन्। पार्टीभित्र हिन्दू राष्ट्रसहित राजसंस्थाको नीतिगत एजेन्डामा मतभेद छैन। तर, भावी नेतृत्वका लागि भने नेताहरूको ठूलो दोडधुप चलेको छ।

राप्रपामा लिङ्देन र राणाले नेतृत्वको दावीसँगै संगठित पनि हुँदै आएका छन्। उनीहरु मध्य एक जना अध्यक्ष र महामन्त्रीमा उम्मेदारी दिने भद्र सहमति भएको नेता राजेन्द्र लिङ्देन बताउँछन्।

‘हामीबीच नेतृत्व लिने र दिने विषयमा सहमति भएको छ,’ लिङदेनले भने, ‘अब केही दिनमै उम्मेदारी घोषणा गर्छौँ।’ यसरी दोस्रो पुस्ताका नेताहरुले बलियो दावी पेश गरेपछि पहिलो पुस्ताका थापा, लोहनी र राणा पनि आफ्नो पक्षको माहोल बनाउन दौडधुप गरेका छन्।

बिगतमा धेरै पटक टुट फुटको नजिर भएको राप्रपा २०४६ सालको परिवर्तन पश्चात धेरै पटक विभाजन भएको राजनीतिक दल मध्ये एक दलमा पर्दछ। धेरै पटक विभाजन हुँदै २०७६ फागुन २४ गते पुनः एकता भएको राप्रपाको यो महाधिवेशन एकताको महाधिवेशन पनि हो।

अध्यक्ष कमल थापाको कार्यशैली प्रति बेलाबेलामा असन्तुष्ट हुँदै आएका धवल शमशेर राणा पार्टीभित्र पुस्तान्तरणको वहस चलाउने पहिलो नेतामा पर्छन्। लामो समयसम्म अध्यक्ष कमल थापासँग निकट रहेका नेता राजेन्द्र लिङ्देनपनि नेतृत्वको आकांक्षी भएपछि पार्टी भित्र पुस्तान्तरणको बहसले बलियो दावी पेश गरेको छ।

यद्यपी पार्टीका अग्रज नेताहरु बुद्धिमान तामाङ, दीपक बोहोरा, विक्रम पाण्डेको पनि बलियो प्रभाव रहेकाले भावी नेतृत्वका लागि उनीहरु नै निर्णायक शक्ति देखिन्छन्। तर उनीहरुलाई पनि विश्वासमा ल्याउन सकिने नेता लिङ्देको विश्वास रहेको छ।

उनले भने, ‘उहाँहरु पार्टीमा लामो समयसम्म र धेरै योगदान पुर्याउनु भएको सम्मानित नेता हुनुहुन्छ। हामी नेतृत्वमा आउँदै गर्दा उहाँहरुलाई कहाँ व्यवस्थापन गर्ने र आफू भन्दा तल्लो तहको नेताको नेतृत्व कसरी स्वीकार्ने भनेर बाहिर चर्चा भएको छ। तर बिगतमा प्रधानमन्त्री भइसक्नु भएका सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले पशुपति शमशेर जबरालाई अध्यक्ष मानेर पार्टी चलाएको नजिरहरु पनि छन्। त्यसकारण यो एउटा प्रक्रिया मात्र हो। उहाँहरुलाई पनि सम्मानका साथ विश्वासमा ल्याउँछौँ।’

पार्टीभित्र पुस्तान्तरणको आवश्यक किन देख्नुभयो ? भन्ने डिसी नेपालको प्रश्नमा उनले भने, ‘हामीले नेतृत्वको दावी गर्दै गर्दा पुरानो पुस्ता असफल भयो भन्ने हैन, उहाँहरुले मुद्दा र बिचारको आजसम्म संरक्षण गर्नुभयो। तर मुद्दालाई स्थापना गर्न सक्नु भएन र जनअपेक्षा अनुसारको पार्टी संचालन हुन नसकेकोले हाम्रो पुस्ता उहाँहरुलाई सम्मानका साथ बिदाई गर्दै हाम्रो पुस्ता नेतृत्वमा आउने हो।’

नेतृत्व परिवर्तनका लागि पार्टीका अध्यक्षत्रयलाई मार्ग प्रशस्त गर्नको लागी पनि अनुरोध गरेको लिङदेनले बताए।यद्यपी उहाँहरुले पनि दावी कायमै राखे लोकतान्त्रिक तबरले निर्वाचनमा प्रतिस्पर्धा गर्न आफ्नो पुस्ता सक्षम रहेको उनको तर्क रहेको छ।

‘२०४६ सालको राजनीति परिवर्तन पश्चात राप्रपामा मात्र नभएर कुनै पनि संसदवादी दलमा नेतृत्वको सहज हस्तान्तरण गर्ने परिपाटी छैन,’ उनले भने, ‘त्यसकारण पुराना नेताहरुको पद मोह र पार्टी विभाजनको दुष्परिणाम नेपाली जनताले भोग्नु परेकोले स्थायीत्वको लागी पनि पुस्तान्तरणको आवश्यक छ।’

७७ वटै जिल्लाको नयाँ नेतृत्व चयन गर्दै राप्रपाले सोमबार ७ वटै प्रदेशले पनि नयाँ नेतृत्व पाएको छ। अब मंसिर ३,४ र ५ गते महाधिवेशन चयन गर्ने कार्यतालिका रहेको छ। यसरी अधिवेशनको मिति नजिकिँदै गर्दा अध्यक्ष कमल थापा निकट युवा नेता राजाराम बर्तौला भने महाधिवेशनमा निर्वाचन भन्दा पनि सर्वसम्मतीका प्रयास गरिने बताउँछन्।

‘नेतृत्व चयनमा हाम्रो पहिलो प्राथमिकता सर्वसम्मतिमा गराउने हुन्छ,’ उनले भने, ‘यदि हुन सकेन भने विधिवत रुपमा निर्वाचनमा जान्छौँ।’ अहिले दोस्रो पुस्ताको नेताहरुले पनि नेतृत्वको दावी गरिरहनु भएको छ। युवाहरुले नेतृत्वको दावी गर्नु एकदमै राम्रो भएपनि अहिले नै सबै जिम्मेवारी युवाले लिदाँ अनुभवको खाँचो हुने भएकाले प्रक्रियागत रुपमा जिम्मेवारी लिनुपर्ने उनको तर्क रहेको छ।

पार्टीमा पुस्तान्तरणको आवश्यक छ कि छैन भन्ने प्रश्नमा उनले भने, ‘पार्टीमा यो खाले बहस उठ्नु राम्रो भएपनि आम कार्यकर्ताको मनोविज्ञानमा सहमतिबाट नेतृत्व खोज्न दवाब आएको छ। पार्टीका दोस्रो पुस्ताका नेताले अध्यक्षमा उम्मेदारी दिने दावी गरेपनि उहाँहरुले उम्मेदारी दिससक्नु भएको छैन,त्यसकारण सहमति गर्नेमा नै हाम्रो प्रयास रहन्छ।’

पार्टी नेतृत्वमा निर्मल निवासको हस्तक्षेप छैन

हिन्दू राज्य र राजसंस्थाको प्रमुख ऐजेण्डा बोकेको राप्रपा महाधिवेशनको मिति नजिकिएसँगै पूर्व राजाको भूमिका कस्तो हुन्छ? भन्ने चासोको विषय बनेको छ। राजासँगै जोडिएको पार्टीको एजेण्डा भएकाले यो चासो हुनु स्वभाविक भएको बर्तौला बताउँछन्।

‘स्वभाविक रुपमा राजासँगको मुद्दामा जोडिएकाले उहाँको चासो नहुने कुरा छैन। उहाँको चासो छ,’ उनले भने, ‘तर नेतृत्व चयनमा राजाको सक्रियता र हस्तक्षेप बढ्यो भन्ने हल्ला पनि आएको छ। तर त्यो हल्लामा कुनै सत्यता छैन।’

‘हाम्रो पार्टी राजाको आस्थासँग जोडिएको छ। त्यसकारण पार्टीको नेताहरु आवश्यक्ता अनुसार उहाँलाई भेट्न जानुहुन्छ। उहाँले चासो राख्नुहुन्छ। तर उहाँले कुनैपनि हस्तक्षेप गर्नुहुन्न।नेतृत्व चयन महाधिवेशन प्रतिनिधिको हातमा रहेको छ,’बर्तौलाले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *