टाउकोको मूल्य १ करोड, मोदीको हत्याको योजना : को हुन् माओवादी शीर्ष नेता प्रशान्त ?

डिसी नेपाल
२ मंसिर २०७८ १७:००

काठमाडौं। टाउकोको मूल्य १ करोड तोकिएका प्रशान्त बोस र उनकी पत्नी शीला मरांडी पक्राउ परेका छन् । प्रशान्तले पक्राउ परेपछि दिएको बयानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्याको योजना आफूले नै बनाएको स्वीकार गरेका छन् । भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का बरिष्ठ पोलिटब्युरो सदस्य प्रशान्त अहिले पार्टीमा दोस्रो सबैभन्दा ठूला नेता हुन् । उनी पार्टीमा महासचिव नम्बाला केशव रावपछि दोस्रो स्थानमा छन् ।

आफ्नो कोड नाम किसान दा भनेर चिनिने प्रशान्त र उनकी पत्नी शीलालाई गत शुक्रबार झारखण्डको जमशेदपुर नजिकैबाट पक्राउ गरिएको हो । उनी भाकपा माओवादीका पोलिटब्युरो सदस्य हुनुका साथै पार्टीको पूर्वी क्षेत्रीय ब्युरो प्रमुख हुन् । पुलिसले प्रशान्तलाई बिहार, झारखण्ड, पश्चिम बंगाल, उडिसा, छत्तीसगढ, आन्ध्र प्रदेश र महाराष्ट्रमा माओवादीको अपरेशनको मास्टरमाइण्ड मान्ने गरेको छ ।

प्रशान्त बोस माओवादी कम्युनिस्ट सेन्टर अफ इण्डियाका संस्थापक सदस्य हुन् । यो संगठन पछि पिपुल्स वार ग्रुपसँग मर्ज भएर भाकपा माओवादी बनेको थियो । प्रशान्तविरुद्ध झारखण्डमा करिब ५० केस दर्ता छन् । उनको टाउकोको मूल्य १ करोड रुपैयाँ तोकिएको थियो । पक्राउ पर्दा प्रशान्तको साथबाट डेढ लाख रुपैयाँ र एउटा पेनड्राइभ बरामद भएको बताइएको छ । पेनडाइभमा नक्सली संगठनको बारेमा कैयौं महत्वपूर्ण सूचना भएको बताइएको छ ।

प्रशान्त विगत कैयौं दशकदेखि भारतका कैयौं राज्यका पुलिसको लागि वान्टेड थिए । प्रशान्त झारखंड, बिहार, पश्चिम बंगाल, उडिसा, छत्तीसगढ, आन्ध्र प्रदेश र महाराष्ट्रमा २ सय भन्दा धेरै नक्सली अपरेशनका मास्टरमाइण्ड थिए । उनको उमेर ८० वर्षभन्दा धेरै भइसकेको छ । उनी वृद्ध भए पनि संगठनका थिंक ट्यांक भएका कारण पार्टीभित्र उनको ओहोदा निकै उच्च छ । प्रशान्तले मुख्य गरी झारखण्डका जंगल र पहाडहरुमा शरण लिन्थे ।

प्रशान्त मूल रुपले पश्चिम बंगालको २४ परगना जिल्लाका हुन् । उनले झारखंडको टुंडी प्रखंडकी आदिवासी महिला शिलासँग विवाह गरेका थिए । पुलिस सूत्रका अनुसार प्रशान्त १९६० को दशकको सुरुवातमै नक्सलीसँग सम्बन्धित एक श्रमिक संगठनको सदस्य भएका थिए । त्यसपछि उनलाई १९७४ मा गिरफ्तार गरिएको थियो । ४ वर्षपछि १९७८ मा उनलाई रिहा गरिएको थियो । रिहा भएपछि उनले कर्न चटर्जीसँग मिलेर माओवादी कम्युनिस्ट सेन्टर अफ इण्डियाको स्थापना गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *