पाकिस्तानी इन्टेलिजेन्स एजेन्ट सुन्दरीको जालमा यसरी फसे २ सय भारतीय सैनिकहरु

डिसी नेपाल
४ मंसिर २०७८ १३:५१

काठमाडौं। पाकिस्तानी इन्टेलिजेन्स एजेन्सी आइएसआइका महिला एजेन्टहरुले भारतीय सैनिक र सुरक्षाकर्मीलाई हनीट्रयापमा फसाएका घटना बढ्दै गएका छन् ।

पछिल्लो एक वर्षमा मात्र २ सय भारतीय सैनिक र अन्यलाई पाकिस्तानी सुन्दरीको मोहमा फसेर संवेदनशील जानकारी लिक गरेको आरोपमा पक्राउ गरिएको छ । पुणेस्थित दक्षिणी कमानको मिलिट्री इन्टेलिजेन्स युनिटले हालै यस्ता कैयौं केसहरुमा धेरै जनालाई पक्राउ गरेको छ । सेप्टेम्बर र अक्टोबरमा युनिटले यस्ता १० केसको खुलासा गर्यो ।

२०२० मा क्रुणाल कुमार बारियालाई फेसबुकमा एउटी केटीको रिक्वेस्ट आयो । रिक्वेस्ट पठाउने युवती निकै सुन्दर सिदरा खान थिइन् जसको उमेर २० देखि ३० वर्षको बीचमा थियो । फिरोजपुर छाउनीमा भारतीय सेनाको आइटी सेलमा तैनाथ बारियालाई कत्ति पनि सन्देश भएन । दुवैले फोन नम्बरको आदान प्रदान गरे त्यसपछि कुराकानी सुरु भयो ।

विस्तारै कुरा अन्तरंग हुँदै गयो । छिटै बारियाले सिदरालाई ती सबै कुरा बताउन थाले जो उनी जान्न चाहन्थिन् । करिब डेढ वर्षपछि २३ अक्टोबर २०२१ मा पंजाब पुलिसको अमृतसर स्पेसल अपरेसन सेलले गोपनीय जानकारी लिक गरेको आरोपमा बारियालाई पक्राउ गर्यो । फिरोजपुर छाउनीका गतिविधिको सूचनाको लागि सिदराले बारियालाई १० हजार रुपैयाँ पनि दिएकी थिइन् ।

सेप्टेम्बरमा दक्षिणी कमाण्डको एमआइ युनिटले राजस्थानको नरहर निवासी सन्दिप कुमारलाई पक्राउ गर्यो । सन्दिप कुमार झुंझनु जिल्लामा आर्मी क्याम्प नजिकै ग्यास एजेन्सी चलाउँथे । क्याम्पमा ग्यार सिलिण्डर पुर्याइदिने क्रममा उनले भित्रका संवेदनशील स्थानका तस्वीर खिचे र ती तस्वीर पाकिस्तानी एजेन्टलाई ५ लाख रुपैयाँमा बेचिदिए ।

कहिलेकाहीँ यो हनीट्रयाप ठूलो स्तरमा पनि गरिन्छ । एउटा केस २०१८ मा भेटिएको थियो । त्यतिबेला निशा शर्मा र पुजा रंजनले भारतीय सशस्त्र बलको लागि सुपरसोनिक मिसाइल निर्माण गर्ने भारत र रुसको संयुक्त प्रोजेक्ट ब्रह्मोस एयरोस्पेसको लागि काम गरिरहेका नागपुरका एक इन्जिनियरलाई फसाए । निशान्त अग्रवाल नामका ती इन्जिनियरले ब्रह्मोस मिसाइलको सटिकतासँग सम्बन्धित महत्वपूर्ण जानकारी लिक गरेका थिए । उनी अहिले नागपुर जेलमा छन् ।

सैन्य खुफिया अधिकारीका अनुसार पाकिस्तानमा रावलपिंडीको एक विश्वविद्यालयको वेबसाइटमा २०१९ मा एउटा विज्ञापन दिइएको थियो । यसबाट ठूलो सामाजिक संजाल ट्रयाप अपरेशनको सुराग भेटियो । विज्ञापनमा एक सैन्य स्वामित्व भएको मिडिया हाउसमा जागिरको लागि सामाजिक संजाल विशेषज्ञ महिला पदमा आवेदन मागिएको थियो । भारतीय एमआइ अधिकारीहरुका अनुसार यी महिलाहरुलाई पुरुषहरुसँग अन्तरंग च्याट गरेर लोभ्याइ खुफिया जानकारी हासिल गर्ने कामका लागि भर्ना गर्न लागिएको थियो ।

इण्डिया टुडेसँग कुरा गरेका सैन्य खुफिया अधिकारीहरुले यो विज्ञापन आइएसआइको ‘अपरेशन हैदराबाद’को सुरुवात भएको मान्छन् । यो अपरेशनको नाम पाकिस्तानको सिन्ध प्रान्तको सहरको नाममा राखिएको थियो । यो अपरेशन अन्तर्गत आइएसआइ रावलपिंडी, हैदराबाद र लाहोरजस्ता शहरमा कल सेन्टर चलाउँछ । निहा शर्मा, इशानिका अहिर र पुजा राजपुत जस्ता भारतीय उपनाम भएका पाकिस्तानी युवतीहरु हजारौं डिपी खोजी गर्छन् । उनीहरुलाई रणनीतिक रुपले तैनाथ भारतीय सशस्त्र बलका यस्ता व्यक्तिहरुको खोजी हुन्छ जसलाई सजिलै फसाउन सकियोस् ।

२०२० मा भारतीय सेनाले आफ्ना सैनिकका लागि सामाजिक संजालमा प्रतिबन्ध लगाएको थियो । यसको उल्लंघन गरेको पाइएमा अनुशासनको कारवाही गरिन्छ । तैपनि केहीले उल्लंघन गर्छन् र फस्छन् । विगत केही महिनामा एमआइले हनीट्रयापको पहिचान गर्न ठूलो अभियान सुरु गरेको छ । काउन्टर इन्टेलीजेन्स टिमले सुराकीको माध्यमबाट ती सैनिकको निगरानी गर्छन् जो फस्न सक्छन् । जसले सेनामा १० वर्षभन्दा कम समय बिताएका छन् उनीहरुलाई सबैभन्दा कमजोर मानिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *