एकपछि अर्को गर्दै ३ वटा अस्पतालले मरेको भनेपछि पोस्टमार्टम गर्न लाग्दा बिरामी जिउँदै

डिसी नेपाल
४ मंसिर २०७८ १४:१०

काठमाडौं। दुर्घटनामा परेका एक व्यक्तिको मृत्यु भएको जानकारी पाएपछि पुलिसले ‘लाश’को मुचुल्का उठाउने क्रममा उनी जीवितै भएको थाहा भएको छ । उनी जीवित भएको खुलासापछि तत्कालै उनलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको छ । यसअघि अस्पताल लगिएका उनलाई अस्पतालले मृत घोषित गरेपछि पोस्टमार्टमको लागि अस्पतालको मुर्दाघरमा राखिएको थियो ।

भारतको उत्तर प्रदेशको मुरादाबादमा शुक्रबार बिहान ४ बजेतिर दुर्घटनामा परेका व्यक्ति श्रीकेश नगर निगमका कर्मचारी भएको बताइएको छ । बिहानै दूध लिन निस्केका उनी सडक पार गर्ने क्रममा दुर्घटनामा परे । परिवारले दुर्घटनाको सूचना पाएपछि उनलाई उपचारको लागि अस्पताल लिएर गएका थिए । अस्पतालले उनलाई मृत घोषित गरेपछि परिवारले अर्को अस्पताल लिएर गए । त्यहाँ पनि उनलाई मृत घोषित गरिएपछि फेरि अर्को अस्पताल लगे । तर, तीनवटै अस्पतालले उनी मरिसकेको भने ।

त्यसपछि परिवारले श्रीकेशलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल लिएर गए । जिल्ला अस्पतालको इमरजेन्सीमा रहेका डा. मनोजले पनि जाँचपछि श्रीकेश मरिसकेको भने र पोस्टमार्टमको लागि मुर्दाघर पठाए । बिहान ११ बजेतिर पुलिसले मुचुल्का उठाउन लाग्दा मृत भनिएका श्रीकेशको सास चलिरहेको महसुस भयो । त्यसपछि तत्काल डाक्टरलाई सूचना दिइयो । डाक्टरले जाँचपछि उनी जीवित भएको पुष्टि गर्दै तत्काल उपचारको लागि भर्ना गरेर उपचार सुरु गरियो ।

जिल्ला अस्पतालका प्रमुख मेडिकल अधिकारी डा. शिव सिंहका अनुसार परिवारले पनि उनलाई जिल्ला अस्पताल ल्याउनुभन्दा पहिले अरु अस्पतालमा पनि लगेको र त्यहाँ पनि मृत घोषित गरिएको बताएका छन् । यस्ता केसहरु निकै दुर्लभ हुन्छन् । डा. सिंहका अनुसार यस्ता दुर्लभ केसमा चोट लागेका व्यक्तिलाई कुनै औषधि दिइँदा त्यसको असर निकै ढिलो देखिन्छ । त्यस्तो बेला व्यक्तिको मृत्यु भइसकेको महसुस हुन्छ । यो केसमा पनि त्यस्तै भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *