एकैचोटी सुँगुरको डेढ किलो मासु र ३.५ किलो प्राउन खाने व्यक्तिलाई रेस्टुराँमा प्रतिबन्ध
बीबीसी। इन्टरनेटमा आफूले खानेकुरा खाएको प्रत्यक्ष प्रसारण गर्ने एक चिनियाँ व्यक्तिले आफूलाई धेरै खाएको भन्दै एउटा रेस्टुराँले प्रतिबन्ध लगाएको बताएका छन्।
काङ नामले चिनिने ती पुरुषले हुनान टीभीलाई दुई पटक खाएपछि निश्चित पैसा तिरेर पेटभरि खान पाइने हान्डाडी सीफूड बीबीक्यू बफे रेस्टुराँले प्रतिबन्ध लगाएको बताएका हुन्।
उनले पहिलो पटक डेढ केजी सुँगुरको मासु र दोस्रो पटक साढे तीनदेखि चार केजी प्राउन खाएको बताएका छन्।
काङले सो रेस्टुराँले धेरै खाने मानिसप्रति “भेदभावपूर्ण” व्यवहार गरेको बताएका छन्।
“म धेरै खान सक्छु, के त्यो मेरो गल्ती हो?” उनले आफूले खानेकुरा खेर नफालेको बताउँदै भने।
तर रेस्टुराँका मालिकले सो टीभीका संवाददातालाई काङले आफूलाई टाट पल्टाउने बताए।
“प्रत्येक पटक उनी आउँदा मलाई केही सय युआन घाटा हुन्छ,” उनले भने।
“उनी भटमासको दूध पनि २०-३० बोतल पिउन सक्छन्। सुँगुरको मासु खाँदा पूरै ट्रे नै सक्छन्। प्राउन खाँदा अन्य मानिसले चिम्टीले च्यापेर निकाल्छन्, उनी चाहिँ ट्रे नै लिन्छन्।”
उनले आफ्नो रेस्टुराँमा इन्टरनेटमा प्रत्यक्ष प्रसारण गर्दै खाने सबैलाई प्रतिबन्ध लगाएको बताए।
काङको यो विवरण चिनियाँ सोशल मिडियामा चर्चित भएको छ। यसको भिडिओलाई २५ करोड पटक हेरिएको छ भने मानिसहरूले विभिन्न प्रतिक्रिया व्यक्त गरिरहेका छन्।
कतिपयले सबैलाई समान व्यवहार नगर्ने भए सो रेस्टुराँले आफूलाई पेटभरि खान पाइने भनेर भन्न नहुने बताएका छन् भने कतिपयले रेस्टुराँका मालिकप्रति सहानुभूति जनाएका छन्।
गत वर्ष चिनियाँ सरकारले खानेकुरा खाएर सोशल मिडियामा प्रसिद्ध भएका मानिसविरुद्ध कदम चाल्ने बताएको थियो जसका कारण खाना खाएका त्यसा भिडिओहरू पूरै चीनमा प्रतिबन्धित पनि हुन सक्छन्।
राष्ट्रपति सी जिन्पिङले खाद्यान्नको अभावको चिन्ताबीच खानेकुरा खेर नफाल्न भनेपछि सरकारले त्यस्तो कदम चालेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment