सत्ताबाट हटाइएका सुडानी प्रधानमन्त्री फेरि सत्तामा फर्किने बाटो खुल्यो

डिसी नेपाल
५ मंसिर २०७८ १७:०१

काठमाडौं। सुडानको सेनाले सत्ताबाट हटाइएका प्रधानमन्त्री अब्दल्ला हमदोकलाई पुनः पदमा स्थापित गर्ने र सबै राजनैतिक बन्दीहरुलाई रिहा गर्ने विषयमा काम गरिरहेको छ । देशका प्रमुख पार्टीहरुमध्ये एकका अध्यक्षले समाचार एजेन्सी रोयटर्सलाई यो जानकारी दिएका हुन् । सुडानमा सेनाले २५ अक्टोबरमा सत्ता कब्जा गरेर हमदोकलाई नजरबन्द गरेको थियो ।

सुडानमा प्रदर्शनपछि ओमर अल बशीरलाई २०१९ मा सत्ताबाट हटाइएको थियो । यससँगै उनको ३ दशक लामो शासन समाप्त भएको थियो र देशमा सेनाको सहयोगमा नागरिक सरकार बनेको थियो । तर, हमदोकलाई सत्ताबाट हटाइएसँगै सुडानमा लोकतान्त्रिक सरकार स्थापना गर्ने प्रयासमा धक्का लागेको थियो ।

अब राजनैतिक दलहरु र सेनाबीच भएको नयाँ सम्झौता अनुसार हमदोकले सरकार बनाउनेछन् र टेक्नोक्रेट को क्याबिनेटको गठन गर्नेछन् । सम्झौताको लागि भएको वार्तामा सहभागी रहेका उम्मा पार्टीका प्रमुख फदलल्लाह बर्माले यो जानकारी दिएका हुन् । सुडानको सम्प्रभुता परिषदको आइतबार आपतकालीन बैठक बस्दैछ । यसपछि सम्झौताको घोषणा गरिनेछ ।

हमदोकसँग जोडिएका एक सूत्रका अनुसार उनी नयाँ सम्झौतामा सहभागी छन् । सैन्य नेता अब्दुल फतल अल बुरहानको तर्फबाट अहिलेसम्म कुनै बयान जारी गरिएको छैन । सेनासँग सत्ता साझेदारी गरिरहेको नागरिक गठबन्धन फोर्सेज अफ फ्रिडम एण्ड चेन्जले सेनासँग भएको कुनै राजनीतिक सम्झौताबारे जानकारी नभएको बताएको छ । सुडानमा सेनाको सत्ता कब्जापछि देशभर प्रदर्शन भइरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *