विद्यार्थी, दक्ष आप्रवासी र शरणार्थीहरु डिसेम्बर १ देखि अस्ट्रेलिया जान पाउने

डिसी नेपाल
६ मंसिर २०७८ १२:४६

काठमाडौं। महामारीका कारण झण्डै २ वर्षदेखि अन्तर्राष्ट्रिय सीमा बन्द गरेको अस्ट्रेलियाले यही डिसेम्बर १ देखि अन्तर्राष्ट्रिय सीमा खुल्ला गर्ने भएको छ । १ डिसेम्बरदेखि योग्य भिसा धारकहरु अस्ट्रेलिया जान पाउनेछन् । प्रधानमन्त्री स्कट मोरिसनले सोमबार पूर्ण रुपमा खोप लगाएका भिसा धारकहरु अस्ट्रेलया प्रवेश गर्न पाउने घोषणा गरेका हुन् ।

अब डिसेम्बर १ देखि दक्ष आप्रवासी कामदारहरु, अन्तर्राष्ट्रिय विद्यार्थीहरु, मानवीय सहायताकर्मीहरु, वर्किङहोलिडेका लागि जानेहरु र प्रोभिजनल पारिवारिक भिसा धारकहरु अस्ट्रेलिया जान पाउने एसबीएस न्यूजले जनाएको छ । प्रधानमन्त्री मोरिसनले यो कदम अस्ट्रेलिया महामारीबाट बाहिर आउने क्रममा महत्वपूर्ण कदम भएको बताएका छन् । ‘दक्ष जनशक्ति र विद्यार्थीहरु फर्किनु भनेको हामी पुरानै अवस्थामा फर्किने क्रममा प्रमुख कोसेढुंगा हो’ मोरिसनले पत्रकारहरुसँग भने ।

अस्ट्रेलियाको संघीय सरकारले डिसेम्बर र जनवरी महिनामा करिब २ लाख भिसा धारक आप्रवासीहरु अस्ट्रेलिया जाने अनुमान गरेको छ । अस्ट्रेलियामा करिब २ वर्षदेखि विदेशीहरु सरकारको विशेष अनुमति लिएर तथा अनिवार्य क्वारेन्टाइन बस्ने गरी मात्र जान पाइरहेका थिए । यही नोभेम्बरको सुरुदेखि अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा खुल्ला गरिएको भए पनि पूर्ण खोप लगाएका नागरिक, स्थायी बसोवासको अनुमति पाएकाहरु र उनीहरुका परिवारलाई मात्रै क्वारेन्टाइनबिना देशका प्रवेश गर्न दिइएको थियो ।

नयाँ नियमअनुसार अस्ट्रेलिया जान चाहने भिसाधारक विदेशीहरुले अस्ट्रेलियाको नियामक अस्ट्रेलियन थेराप्युटिक गुड्स एडमिनिस्ट्रेसनले स्वीकृति दिएको खोप लगाएको हुनुपर्नेछ र सोप लगाएको प्रमाण देखाउनुपर्नेछ । उनीहरुले उड्नुभन्दा ३ दिनअघिको कोभिड–१९ परीक्षण नेगेटिभ भएको पीसीआर रिपोर्ट पनि पेश गर्नुपर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *