हाइपरसोनिक प्रविधि हासिल गर्ने चीन पहिलो देश बन्यो, दोस्रो मिसाइल हानेपछि अमेरिका स्तब्ध

डिसी नेपाल
६ मंसिर २०७८ १४:३३

काठमाडौं। चीनको पृथ्वीलाई परिक्रमा गर्ने हाइपरसोनिक आणविक हतियारले दोस्रो मिसाइल हानेको छ । आवाजको गतिभन्दा ५ गुणा तीब्र गतिमा उडिरहेकै अवस्थामा यो हतियारले मिसाइल प्रहार गरेको हो । अहिलेसम्म यो स्तरको उन्नत इन्जिनियरिङ कुनै पनि देशले हासिल गर्न सकेका थिएनन् । चीनको यो परीक्षणले अमेरिकाको रक्षा विभाग पेन्टागनका वैज्ञानिक स्तब्ध भएको बताइएको छ ।

गत महिना नै चीनले हाइपरसोनिक मिसाइल हानेको दावी गरिएपछि यसले विश्वमै तरग ल्याएको थियो । अहिले यो हतियार त्यतिबेला सोचिएको भन्दा अझै धेरै उन्नत भएको खुलासा भएको छ । चीनको यो हाइपरसोनिक हतियार एक विमान हो जसले आणविक मिसाइल लिएर उड्न र हान्न सक्छ । फाइनान्सियल टाइम्सका अनुसार यो जहाजले यसअघि जुलाइ २७ मा दक्षिण चीन सागरमा उडानको क्रममा पहिलो मिसाइल हानेको थियो ।

पेन्टागनको उन्नत अनुसन्धान एजेन्सी डार्पाका वैज्ञानिकहरुले चीनले यो उपलब्धी कसरी हासिल गर्यो भन्नेमा आफूहरु निश्चित नभएको बताएका छन् । सैन्य विशेषज्ञहरुले यो उपलब्धी कसरी हासिल भयो भन्ने थाहा पाउन डाटाहरुको गहिरो अध्ययन गरिरहेको बताइएको छ । वैज्ञानिकहरुले यो मिसाइल प्रहार गर्नुको उद्देश्य के थियो भन्ने कुरा पनि खोजिरहेका छन् किनकि यो मिसाइल हाइपरसोनिक जहाजबाट हानिएको थियो तर पानीमा लाग्नुभन्दा पहिले यसको कुनै निश्चित निशाना थिएन ।

केही पेन्टागन विशेषज्ञहरुले यसको उद्देश्य हावाबाट हावामै हान्ने मिसाइल भएको विश्वास गरेका छन् भने केहीले यो मिसाइलले जमिनमा रहेको मिसाइल डिफेन्स सिस्टममा हानेर त्यो सिस्टमले यो हाइपरसोनिक जहाजलाई हान्न नसकोस् भन्ने निश्चित गर्ने अनुमान गरेका छन् । रुस र अमेरिका पनि वर्षौंदेखि हाइपरसोनिक हतियार विकास गर्न प्रयासरत छन् तर विशेषज्ञका अनुसार चीनले हालै दोस्रो मिसाइल हान्नुले चीनको सफलता क्रेमलिन र पेन्टागन दुवैको भन्दा धेरै अगाडि पुगिसकेको देखिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *