एमालेमा सर्वसम्मत पदाधिकारी चयनको संभावना टर्दै

मदन कोइराला
७ मंसिर २०७८ १०:५५

काठमाडौं। प्रमुख प्रतिपक्षमा रहेको मुलुकको सबैभन्दा ठूलो दल नेकपा एमाले दशौं महाधिवेशनको संघारमा छ। मंसिर १०–१२ सम्म चितवनमा हुने दशौं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ।

महाधिवेशनको मिति संघारमै आइपुग्दासमेत नेताहरुले पदाधिकारीमा उम्मेद्वारी घोषणा गर्न सकेका छैनन्। अध्यक्षमा केपी शर्मा ओलीसँग उपाध्यक्ष भीम रावलले प्रतिष्पर्धा गर्ने घोषणा गरेका छन्। अन्य पदाधिकारीमा नेताहरुले आकांक्षा देखाएपनि उम्मेद्वारी घोषणा गर्न सकेका छैनन्।

एमालेमा सकेसम्म पदाधिकारी सर्वसम्मत रुपमा चयन गर्नुपर्ने आवाज उठेपनि हालसम्म त्यसमा सहमति भएको छैन। अहिले सबैको नजर अध्यक्ष केपी शर्मा ओलीमाथि छ। ओलीलाई चिढ्याएर निर्वाचित हुन सक्ने अवस्था नभएका कारण ओलीको आर्शीवाद प्राप्त गर्न नेताहरु लागिपरेका छन्।

पदाधिकारीमा सर्वसम्मत गर्ने प्रयास भएपछि त्यो संभावना टर्दै गएको एमाले नेताहरुले जनाएका छन्। अध्यक्षमा ओली आफू सर्वसम्मत बन्न चाहन्छन्। आफू सर्बसम्मत बन्ने अवस्थामा उनले अन्य पदाधिकारीमा पनि सर्वसम्मतिको प्रयास गर्ने तर आफू नै सर्वसम्मत नहुने अवस्थामा भने बाँकी पदमा पनि निर्वाचन गराउने पक्षमा ओली छन्। तर अझै पनि सहमतिको प्रयास भने जारी रहेको नेताहरुले बताएका छन्।

‘सकेसम्म पदाधिकारीमा सर्वसम्मत हुनुपर्छ भन्नेमा हामी छौं,’ स्थायी कमिटी सदस्य सुवास नेम्वाङले डिसी नेपालसँग भने, ‘तर अध्यक्षमा अर्को कमरेड (भीम रावल) ले पनि उम्मेद्वारी दिने घोषणा गर्नु भएको छ। अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफलकै क्रममा छौं।’

अध्यक्षमा ओली आफू सर्वसम्मत बन्न चाहन्छन्। आफू सर्बसम्मत बन्ने अवस्थामा उनले अन्य पदाधिकारीमा पनि सर्वसम्मतिको प्रयास गर्ने तर आफू नै सर्वसम्मत नहुने अवस्थामा भने बाँकी पदमा पनि निर्वाचन गराउने पक्षमा ओली छन्। तर अझै पनि सहमतिको प्रयास भने जारी रहेको नेताहरुले बताएका छन्।

पदाधिकारीको संख्या कम र आकांक्षी धेरै भएका कारण सबैलाई समेट्नु पर्ने दायित्व अध्यक्ष ओलीमाथि छ । त्यसमा पनि माओवादीबाट एमाले प्रवेश गरेका नेताहरुको व्यवस्थापन र दश बुँदे सहमतिमार्फत मुल पार्टीमा फर्किएका नेता र आफ्नै समूहभित्रका आकांक्षीको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ।

औपचारिक रुपमा मुख नखोलेपनि ओली समूहका धेरै नेताहरुले पदाधिकारीमा आकांक्षा देखाएका छन्। ओली निकट स्रोतका अनुसार सहमति भएको अवस्थामा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलको नाम पक्का जस्तै छ।

त्यसबाहेक माओवादीबाट आएकामध्ये वरिष्ठ नेता रामबहादुर थापा बादललाई पनि उपाध्यक्ष बनाउने ओलीको तयारी छ। ओलीलाई सधैं साथ दिँदै आएका सुवास नेम्वाङ पनि उपाध्यक्षका दाबेदार हुन्।

अझै पनि भीम रावलको उचित व्यवस्थापन गरेर आफू सर्वसम्मत हुने ओलीको प्रयास रहेको एक नेताले जनाए। कतिपयले भने रावलले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेर वरिष्ठ उपाध्यक्ष पद सुरक्षित गर्न चाहेको रुपमा बुझेका छन्।

तर ओली रावललाई वरिष्ठ उपाध्यक्ष दिने पक्षमा छैनन्। रावलसँगै दश बुँदे सहमतिमार्फत पार्टीमा फर्किएका नेताहरु घनश्याम भुसाल, युवराज ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताको व्यवस्थापन ओलीको अर्को चुनौती हो।

विधानले एक वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्षको व्यवस्था गरेको छ भने एक महासचिव, एक उपमहासचिव र सात सचिवको व्यवस्था गरेको छ। महासचिवमा हालका उपमहासचिव विष्णु पौडेल र शंकर पोखरेलले आकांक्षा राखेका छन्।

नवौं महाधिवेशनमा महासचिव ईश्वर पोखरेलसँग मात्र ६ भोटले पराजित भएका सुरेन्द्र पाण्डेको दाबी पनि महासचिवमा नै छ। सर्वसम्मत गर्दा महासचिवको व्यावस्थापन नै चुनौतीपूर्ण देखिएको छ। महासचिवमा पृथ्वीसुब्बा गुरुङले पनि दाबी गरेका छन्।

योसँगै माओवादीबाट आएका नेताहरु टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्टलाई पनि पदाधिकारीमा समेट्नु पर्ने अवस्थामा ओली छन्। संकटको बेलामा आफूलाई साथ दिएको भन्दै ओलीले माओवादीबाट आएका नेताहरुको उचित व्यवस्थापन गर्ने बताउँदै आएका छन्। यसरी पदाधिकारीमा धेरैको आकांक्षाले पदाधिकारीमा सर्वसम्मतको संभवना गर्दै आएको एक नेताले बताए।

पदाधिकारीमा निर्वाचन भए पूर्व माओवादीबाट एमालेका आएका नेताहरुको अवस्था के हुन्छ भन्ने अर्को चुनौती थपिएको छ। ‘अब अन्तिम विकल्प भनेको पदाधिकारी संख्या बढाउने भन्ने हो,’ ओली निकट एक नेताले भने, ‘तर केही व्यक्तिको व्यवस्थापन गर्न विधान विपरित पदाधिकारी संख्या थप गर्दा राम्रो सन्देश जाँदैन भन्ने पनि हामीले सोचेका छौं।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *