रुसले युक्रेनमाथि आक्रमण गर्ने अमेरिकी खुफिया एजेन्सीको रिपोर्ट, अमेरिकाले हतियार पठाउँदै
काठमाडौं। रुस र युक्रेनबीचको तनाबका बीच यी दुई देशबीच छिटै हिंस्रक मोड आउने देखिएको छ । अमेरिकी इन्टेलिजेन्सको रिपोर्टअनुसार रुसले छिटै युक्रेनमाथि आक्रमण गर्न सक्छ । यसको लागि रुसले ठूलो स्तरमा तयारी गरिरहेको छ । रिपोर्टका अनुसार रुसी सेनाले अलग अलग ठाउँमा युक्रेनविरुद्ध सैन्य कारवाही गर्न सक्छ । अमेरिकाबाट यो रिपोर्ट पछिल्लो महिनामा दोस्रो पटक आएको छ । यसअघि आएको रिपोर्टलाई रुसले ‘अमेरिकाले आफूविरुद्ध गलत बयानबाजी गरिरहेको’ भनेर खारेज गरेको थियो ।
अमेरिकी इन्टेलिजेन्स इनपुटको बारेमा ब्लुमबर्गले एक रिपोर्ट प्रकाशित गरेको छ । रिपोर्टका अनुसार अमेरिकाले आफ्ना नाटो सहयोगीहरुलाई खुफिया सूचनाको साथमा केही नक्सा पनि उपलब्ध गराएको छ । यी सूचना र नक्साले रुसी राष्ट्रपतिले युक्रेनमाथि आक्रमण गर्ने तयारी गरिरहेको देखाउने अमेरिकाले बताएको छ । पुटिनले अर्को वर्ष सुरु भएसँगै जनवरीमै युक्रेनमाथि आक्रमण गर्न सक्ने रिपोर्टमा जनाइएको छ ।
इन्टेलिजेन्स रिपोर्टका अनुसार पुटिन चाहन्छन् कि युक्रेनमाथि अलग अलग स्थानबाट आक्रमण गरियोस् । यसका लागि करिब १ सय सैन्य टुकडीहरुलाई तयार रहन निर्देशन दिइएको छ । यी बटालियनहरुले क्रिमिया, रुस र बेलारुसको बाटोबाट आक्रमण गर्न सक्ने मानिएको छ । यसका लागि करिब १ लाख सैनिकहरुलाई तयार रहन निर्देशन दिइएको छ । टुकडीहरुलाई युक्रेनको हिउँ पर्ने क्षेत्रको अवस्थाको सामना गर्नको लागि तयार रहन भनिएको छ ।
गत हप्ता रुसी राष्ट्रपति पुटिनले रोसिया टिभी च्यानललाई दिएको एक अन्तरवार्तामा रुसले युक्रेनमाथि आक्रमण गर्ने रणनीति बनाइरहेको भन्ने रिपोर्टलाई पूर्ण रुपमा अस्वीकार गरेका छन् । यसका साथै पुटिनले अमेरिका र उसका सहयोगीहरुलाई रुसलाई कडा बदम उठाउन बाध्य नपार्न चेतावनी दिएका थिए । यद्यपि अहिलेसम्म कसैले पनि यो कुराको अनुमान गर्न सकिरहेका छैनन् कि पुटिनको दिमागमा के चलिरहेको छ ।
यो महिनाको सुरुवातमा अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेनले भनेका थिए ‘रुसका सैन्य गतिविधिहरुलाई लिएर हामीलाई शंका छ । अहिलेलाई हामी यो स्पष्ट बताउन सक्दैनौं कि पुटिनका सम्भावित उद्देश्य के छन् । पुराना कुराहरुको आधारमा यो अनुमान निश्चय लगाउन सकिन्छ कि रुसले कुनै खतरनाक कदम उठाउन सक्छ ।’ ब्लिंकेनले रुसका सैन्य गतिविधिप्रति अमेरिका चिन्तित रहेको बताउँदै रुसका गतिविधिलाई नजिकबाट निगरानी गरिरहेको बताएका थिए ।
यसैबीच अमेरिकी मिडिया सीएनएनले रुसको सम्भावित आक्रमणलाई दृष्टिगत गर्दै अमेरिकाले युक्रेनलाई घातक हतियार सहयोग गर्ने तयारी गरिरहेको दावी गरेको छ । अमेरिकाले युक्रेनलाई सहयोग गर्नको लागि सैन्य सल्लाहकार र हतियारसहित नयाँ उपकरण पठाउने तयारी गरिरहेको यस विषयसँग सम्बन्धित धेरै स्रोतहरुले बताएको सीएनएनले उल्लेख गरेको छ । अमेरिकाले पठाउने हतियारहरुमा नयाँ ज्याभलिन एन्टि ट्यांक तथा एन्टि आर्मर मिसाइल र मोर्टारहरु छन् । यसबाहेक स्टिंगर मिसाइलजस्ता एयर डिफेन्स सिस्टम समेत पठाउने विषयमा कुरा भइरहेको छ ।







डिसी नेपाल







Facebook Comment