चलचित्र ‘टुल्की’ले पायो प्रदर्शन गर्ने अनुमति

डिसी नेपाल
९ मंसिर २०७८ १४:४७

काठमाडौं । हिमाली जिल्ला डोल्पामा खिचिएको चलचित्र ‘टुल्की’ले प्रदर्शन गर्ने अनुमति पाएको छ । हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ले बुधबार केन्द्रीय चलचित्र जाँच समितिबाट प्रदर्शनको अनुमति पाएको हो ।

समितिका पदाधिकारीले हेरेपछि प्रमाणपत्र प्रदान गरेको चलचित्र निर्माता शेखर लामाले बताए । ‘द पाल्म ग्रुप प्रालि’को ब्यानरमा निर्माण गरिएको उक्त चलचित्रमा हिमाली भेगमा प्रचलित बहुपति प्रथालाई देखाइएको छ ।

एक ब्राम्हण बस्तीमा जन्मेकी ‘टुल्की’ले प्रेमविवाह गरेर उपल्लो डोल्पा जाँदा संस्कारका नाममा भोग्नुपरेको कहालीलाग्दो पीडालाई सो चलचित्रमा उतारिएको छ ।

चलचित्रको निर्देशन तथा छायाँङ्कन देवजङ्ग थापाले गरेका छन् । चलचित्रमा लगानी शेखर लामा र आरपी कर्माचार्यको रहेको छ । सो चलचित्रको कथा लक्ष्मण सुनारले लेखेका हुन् ।

चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारको अभिनय रहेको छ ।

करिब चार वर्षको अध्ययनपछि निर्माण गरिएको उक्त चलचित्र विभिन्न देशमा प्रदर्शन गरिसकेपछि मात्र नेपालमा देखाइने लामाको भनाइ छ । अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा समेत सो चलचित्र प्रदर्शन गरिने बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *