एमाले महाधिवेशन : सर्वसम्मत नेतृत्व चयनका लागि पदाधिकारी संख्या थप्न दबाव

मदन कोइराला
१० मंसिर २०७८ ११:१६

चितवन। नेकपा (एमाले) को दशौं अधिवेशन आजबाट चितवनमा सुरु हुँदैछ। आज दिउँसो चितवनस्थित नारायणी नदी किनारमा दशौं महाधिवेशन उद्घाटन हुँदै गर्दा नेताहरुले भने अझै पनि सहमतिको प्रयास भन्दै सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि पहल जारी राखेका छन्।

विशेष गरी पदाधिकारीमा सर्वसम्मतको प्रयास भइरहेको छ। अन्य पदमा पनि सहमतिको प्रयास जारी राख्न विकल्पमा छलफल भइरहेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। ‘सहमतिका लागि विभिन्न विकल्पमा छलफल भइरहेको छ,’ ज्ञवालीले डिसी नेपालसँग भने, पदाधिकारीको संख्या थप नै हुने जस्तो त लाग्दैन तर सहमतिको प्रयास भने जारी छ।’

एमाले अध्यक्ष केपी शर्मा ओली निकट स्रोतका अनुसार सर्वसम्मत नेतृत्व चयनका लागि पदाधिकारीदेखि केन्द्रीय कमिटीको संख्यासम्म थप्ने गरी छलफल भइरहेको छ।
पदाधिकारीका आकांक्षी धेरै भएपछि सबैलाई चित्त बुझाउन अध्यक्ष ओलीलाई पनि सकस भइरहेको छ।

अध्यक्षमा भीम रावलले उम्मेद्वारी घोषणा गरेपछि अन्य पदमा पनि निर्वाचन हुने र निर्वाचन भएको अवस्थामा माओवादीबाट एमाले प्रवेश गरेका नेता र दश बुँदे सहमति गरेर पार्टी मुधबारमा फर्किएका नेताको व्यवस्थापनमा जटिलता उत्पन्न हुने भन्दै केही नेतहरुले सर्वसम्मत नेतृत्व चयनको पहल गर्दै आएका छन्।

ओली निकट मानिने नेता विशाल भट्टराईका अनुसार अहिले पदाधिकारी, आयोग र केन्द्रीय कमिटीको संख्या थप गरेर भएपनि सहमतिको प्रयास भइरहेको छ। यो विषयमा अध्यक्ष ओलीसँग पटक पटक संवाद भएको र त्यसकास लागि ओली पनि सकारात्मक रहेको उनको भनाइ छ।

पार्टीमा अध्यक्षसहित १५ जना पदाधिकारी रहने व्यवस्था छ। २२५ सदस्यीय केन्द्रीय कमिटी छ। तर, पदका आकांक्षी धेरै भएका कारण अधिकांश पदमा निर्वाचन नै गर्नुपर्ने अवस्था आएपछि सर्वसम्मत नेतृत्व चयनका पक्षधरहरुले यस्तो प्रस्ताव ल्याएका हुन्।

सकेसम्म अहिले भएकै संख्यामा सर्वसम्मत चयनको प्रयास भइरहेको छ तर अहिलेकै संख्यामा आकांक्षीहरु सबैलाई अटाउन सकिने अवस्था छैन। आकांक्षीहरु धेरै भएपछि सबैलाई व्यवस्थापन गर्नको लागि पदहरु थप्ने विषयमा छलफल सुरु भएको उनले बताए।

पदाधिकारीको संख्या कम र आकांक्षी धेरै भएका कारण सबैलाई समेट्नु पर्ने दायित्व अध्यक्ष ओलीमाथि छ । त्यसमा पनि माओवादीबाट एमाले प्रवेश गरेका नेताहरुको व्यवस्थापन र दश बुँदे सहमतिमार्फत मुल पार्टीमा फर्किएका नेता र आफ्नै समूहभित्रका आकांक्षीको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ।

अझै पनि भीम रावलको उचित व्यवस्थापन गरेर आफू सर्वसम्मत हुने ओलीको प्रयास रहेको एक नेताले जनाए। कतिपयले भने रावलले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेर वरिष्ठ उपाध्यक्ष पद सुरक्षित गर्न चाहेको रुपमा बुझेका छन्।

तर ओली रावललाई वरिष्ठ उपाध्यक्ष दिने पक्षमा छैनन्। रावलसँगै दश बुँदे सहमतिमार्फत पार्टीमा फर्किएका नेताहरु घनश्याम भुसाल, युवराज ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताको व्यवस्थापन ओलीको अर्को चुनौती हो।

विधानले एक वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्षको व्यवस्था गरेको छ भने एक महासचिव, एक उपमहासचिव र सात सचिवको व्यवस्था गरेको छ। महासचिवमा हालका उपमहासचिव विष्णु पौडेल र शंकर पोखरेलले आकांक्षा राखेका छन्।

नवौं महाधिवेशनमा महासचिव ईश्वर पोखरेलसँग मात्र ६ भोटले पराजित भएका सुरेन्द्र पाण्डेको दाबी पनि महासचिवमा नै छ। सर्वसम्मत गर्दा महासचिवको व्यावस्थापन नै चुनौतीपूर्ण देखिएको छ। महासचिवमा पृथ्वीसुब्बा गुरुङले पनि दाबी गरेका छन्।

योसँगै माओवादीबाट आएका नेताहरु टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्टलाई पनि पदाधिकारीमा समेट्नु पर्ने अवस्थामा ओली छन्। संकटको बेलामा आफूलाई साथ दिएको भन्दै ओलीले माओवादीबाट आएका नेताहरुको उचित व्यवस्थापन गर्ने बताउँदै आएका छन्। यसरी पदाधिकारीमा धेरैको आकांक्षाले पदाधिकारीमा सर्वसम्मतको संभवना गर्दै आएको एक नेताले बताए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *