कम्पनीले नेपाली सहित कामदारका लागि ८ करोड खर्च गर्ने, मालिकले रक्सी खाएर घोषणा गरे

डिसी नेपाल
१० मंसिर २०७८ १६:०६

काठमाडौं। हङकङको ब्ल्याक शिप रेष्टुरेण्ट समूहले आफ्ना कर्मचारीहरुको लागि गजबको उपहार दिएको छ । कोरोनाका कारण कैयौं महिनादेखि आफ्नो घर जान नपाएका सबै कर्मचारीहरुलाई यो कम्पनीले आफ्नै खर्चमा घर पठाउने घोषणा गरेको छ । कम्पनीले सबै कर्मचारीलाई छिटै आफ्ना परिवारसँग भेट्नको लागि घर पठाइने बताएको छ र यसको सबै खर्च कम्पनीले व्यहोर्नेछ ।

कर्मचारीलाई घरसम्म जान जहाजदेखि जहाँ–जहाँ कोभिड परीक्षण गर्नुपर्ने हुन्छ त्यसको खर्च पनि कम्पनीले गर्नेछ । कर्मचारीले कम्पनीले दिएको भन्दा धेरै विदा लिनु परेमा पनि विदा दिइनेछ र त्यसरी थपिएको विदाको तलब पनि काटिने छैन । तलबमा कुनै कटौती गरिने छैन । घर गएका कर्मचारी फर्किने बेलामा पनि उनीहरुको यात्रा, बसोवास, खाना लगायतका सबै खर्च कम्पनीले नै गर्नेछ । हङकङ फर्किएपछि त्यहाँको नियमअनुसार क्वारेन्टाइनमा बस्दा पनि कम्पनीले नै उनीहरुलाई खाना पुर्याइदिनेछ ।

कम्पनीले कर्मचारीहरुको लागि एउटै शर्त राखेको छ – घर गएर फर्किसकेपछि कम्तीमा एक वर्ष काम छोडेर जान पाइने छैन । यो रेष्टुरेण्टमा २५० कर्मचारीहरु छन् । यिनीहरुमा नेपाली पनि छन् । कम्पनीले यी कर्मचारीलाई नेपालसहित उनीहरुको घर भारत, इङल्याण्ड, अर्जेन्टिना, नाइजेरिया, फ्रान्स, दक्षिण अफ्रिका र अस्ट्रेलियासम्म जाने अनुमति दिनेछ र सबै खर्च व्यहोर्नेछ ।

कम्पनीमा काम गर्ने पोखराकी साबि गुरुङ

कर्मचारीहरुको लागि यो फैसला ब्ल्याक शीप रेष्टुरेण्टका सह संस्थापक सैयद असीम हुसेन र क्रिस्टोफर मार्कले गरेका हुन् । सैयदले सीएनएनसँग कुरा गर्दै यो निर्णय केही पागलपन भए पनि राम्रो कदम भएको बताए । उनका अनुसार उनीहरुले यो निर्णय रक्सी पिएर मातेको बेला गरेका हुन् । सैयदले भने ‘हामीले यो आइडियाबारे हाम्रा पार्टनरहरुलाई भन्दा उनीहरु यसको विरुद्ध थिए तर पछि माने ।’ उनका अनुसार कर्मचारीलाई जनवरीदेखि घर पठाउन सुरु गरिनेछ ।

कोरोनाकालमा विदेशमा काम गर्न गएका कैयौं मानिसहरु उतै फसे । यो रेष्टुरेण्टमा काम गर्ने कर्मचारीहरुको पनि यस्तै समस्या छ । भारतको पंजाबका सन्दिप अरोराले २०२० देखि परिवार भेटेका छैनन् । इङल्याण्डको म्यानचेस्टरकी एमी स्कट जून २०१९ देखि घर गएकी छैनन् । नेपालको पोखराकी साबि गुरुङ पनि यसैगरी घर आउन नपाएर बसेकी छिन् । साबिले पनि २ वर्षदेखि परिवार भेट्न पाएकी छैनन् ।

साबिले ८ वर्षदेखि ब्ल्याक शीप रेष्टुरेण्टमा काम गरिरहेकी छिन् । उनले भनिन् ‘म नेपालमा पोखराकी हुँ जो निकै सुन्दर ठाउँ छ । त्यहाँ मेरा माता पिता र प्यारो कुकुर बस्छन् । मैले उनीहरुलाई विगत २ वर्षदेखि भेट्न पाएकी छैन । मलाई उनीहरु सबैको धेरै याद आउँछ ।’ साबिले नेपालमा आएर मोमो र समोसा खाने बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *