अवैध रुपमा बेलायत छिर्न खोज्दा मारिएका २७ मध्ये पहिचान खुलेकी एकमात्र युवती को हुन् ?

डिसी नेपाल
११ मंसिर २०७८ १५:१२

काठमाडौं। २ दिनअघि अवैध रुपमा इङलिश च्यानलको समुद्री बाटो भएर बेलायत प्रवेश गर्ने प्रयास गर्दै गर्दा भएको डुङगा दुर्घटनामा २७ जना आप्रवासीको ज्यान गएको थियो । यी २७ जनामध्ये पहिलो पीडितको पहिचान भएको छ । अहिलेसम्म मारिएकामध्ये यी एउटी युवतीको मात्र पहिचान खुलेको छ । यी पीडित उत्तरी इराककी २४ वर्षकी कुर्द युवती भएको बीबीसीले जनाएको छ ।

बुधबार बेलायत छिर्ने प्रयास गर्दा २७ जनाको मृत्यु भएको थियो । मारिनेमध्ये पहिचान खुलेकी यी युवतीको नाम मरियम नुरी मोहम्मद अमीन हो । उनका हुनेवाला पति बेलायतमा बस्छन् । उनले बीबीसीसँग कुरा गर्दै उनलाई हुनेवाली पत्नीले म्यासेज गर्दै आफूहरुको समूहको डुङ्गा डुबिरहेको बताएको खुलासा गरेका छन् । मरियमले आफूहरुलाई बचाइने विश्वास दिलाएकी थिइन् । तर सहयोग ढिलो भयो र उनको साथमा १७ पुरुष, ६ महिला र तीन बच्चाहरु उत्तरी फ्रान्स तटमा डुबे । यीमध्ये एक महिला गर्भवती थिइन् ।

यो दुर्घटनामा एक इराकी र एक सोमाली व्यक्ति जीवित बचेका छन् । च्यानलमा कैयौं वर्षका क्रममा भएको दुर्घटनामा यो सबैभन्दा ठूलो दुर्घटना हो । मरियमका फियोन्सेले बताएअनुसार मरियम आफ्ना महिला आफन्तको साथमा डुङ्गामा थिइन् । उनका अनुसार उनलाई मरियमहरु च्यानल पार गरेर आउन लागेको बारे पहिले थाहा थिएन र मरियम उनलाई सरप्राइज दिनको लागि बेलायत जान लागेकी थिइन् ।

उनका अनुसार डुङगाको हावा निस्किन लाग्दा उनीहरु स्न्यापच्याटमा कुरा गरिरहेका थिए । मरियमले उनलाई भनेकी थिइन् कि डुङ्गा डुबिरहेको छ र उनीहरु डुङगाबाट पानी बाहिर निकाल्ने कोसिस गरिरहेका छन् । मरियमले अन्तिम सन्देशमा प्रशासन आफूहरुलाई बचाउन आइरहेको विश्वास दिलाएकी थिइन् । मरियमका काकाले पनि बीबीसीसँग कुरा गर्दै इङलिश च्यानलमा मारिनेमा मरियम पनि भएको पुष्टि गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *