भागेका ११ लाख अफगानी स्वदेश फर्किए, ५ लाखभन्दा धेरैले अर्को देशमा शरण लिए

डिसी नेपाल
१२ मंसिर २०७८ १६:५९

काठमाडौं। संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठनले अफगानिस्तानको विषयमा एक रिपोर्ट जारी गरेको छ । रिपोर्टका अनुसार करिब ११ लाख ४६ हजार अफगानीहरु नागरिक दस्तावेजको अभावमा इरान र पाकिस्तानबाट स्वदेश फर्किएका छन् । उनीहरु तालिबानले शासनसत्ता नियन्त्रणमा लिएपछि अफगानिस्तानबाट भागेर छिमेकी देश गएका थिए । यसरी फर्किनेमा इरानबाट फर्किनेहरुको संख्या सबैभन्दा बढी छ ।

खामा प्रेस समाचार एजेन्सीको एक रिपोर्टअनुसार तालिबानले देशमा नियन्त्रण गरेपछि यहाँका नागरिकको पलायनमा तीब्रता आएको थियो । हजारौं अफगानी शरणार्थी, टर्की, भारत, युरोप, इङल्याण्ड, अमेरिका, क्यानडा सहित सीमा छजोडिएका छिमेकी देश पुगेका छन् । रिपोर्टका अनुसार तालिबानी संघर्ष र असुरक्षाका कारण यस वर्ष अफगानिस्तानबाट आधा मिलियन भन्दा धेरै जनताले देश छोडेका छन् । यस वर्ष १ जनवरीदेखि २१ नोभेम्बरसम्म करिब ६ लाख ६७ हजार अफगानीहरुले घर छाडेर देशबाहिर शरण लिनुपरेको छ ।

अर्को एक रिपोर्टका अनुसार १५ अगष्टमा तालिबानले अफगानिस्तानको शासन नियन्त्रणमा लिएपछि देशको करिब ९५ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि पुगेका छन् । गरिबी बढ्नुका साथै अफगानिस्तानको अर्थतन्त्र पनि गम्भीर रुपले खराब भएको छ । तालिबानको नियन्त्रणपछि यहाँको अर्थतन्त्रमा ३५ प्रतिशत गिरावट आएको छ । अफगानिस्तानबाट मानिसहरुलाई निकाल्न सेप्टेम्बरदेखि पश्चिमी देशले अभियान चलाएका छन् त्यसपछि यहाँबाट महिला नेता, पत्रकार, वकिल, न्यायाधीशसहित कैयौं अफगानीले देश छोडेका छन् ।

तालिबानले सत्ता सम्हालेपछि यस पटकको शासनमा महिलाहरुलाई इस्लामको हदभित्र रहेर अधिकार दिइने प्रतिबद्धता जनाएको थियो । तर, अहिलेसम्म यस्तो देखिएको छैन । विश्वविद्यालय र स्कुलमा महिलाहरुका लागि निकै कडा नियम छन् । महिला पत्रकारलाई सडकमा कुटिएको छ । अफगानिस्तानका २ दशकदेखि निजी मिडिया चलिरहेका थिए । तालिबान आएपछि यी मिडियामाथि कडाइ गरिएको छ । त्यसपछि कैयौं मिडिया बन्द भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *