देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल चीनले कब्जा गर्ने रिपोर्टबारे चीनले जवाफ दियो

डिसी नेपाल
१३ मंसिर २०७८ १०:४९

काठमाडौं। युगाण्डाको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल चीनले कब्जा गर्न लागेको भन्दै केही अफ्रिकी न्यूज पोर्टलहरुमा हालैको दिनमा प्रकाशित समाचारको चीनले खण्डन गरेको छ । युगाण्डाले लिएको २०० मिलियन डलर ऋण तिर्न नसकेपछि युगाण्डाको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल इन्तेब्बे विमानस्थल चीनले कब्जा गर्ने दावीसहित केही अफ्रिकी समाचार पोर्टलमा यसै साता समाचार प्रकाशित भएको थियो ।

युगाण्डाले यो विमानस्थल विस्तार गर्नको लागि चीनसँग २०० मिलियन डलर ऋण लिएको थियो । तर, त्यो ऋण तिर्न नसकेपछि डिफल्ट व्यवस्थाअनुसार यो विमानस्थलमा चीनको कब्जा हुने रिपोर्टमा दावी गरिएको थियो । युगाण्डाको नागरिक उड्डयन प्राधिकरण र बेइजिङ दुवैले यो समाचारको खण्डन गरेका छन् । चीनको टेकओभरमा सम्झौतामा रहेका केही ‘घातक बुँदाहरु’ कारक रहेको रिपोर्टमा जनाइएको थियो ।

यो सम्झौता युगाण्डा सरकार र चीनको एक्सपोर्ट इम्पोर्ट (एक्सिम) बैंक अफ चाइनाबीच ३१ मार्च २०१५ मा भएको थियो । ‘युगाण्डाले एक्सिम बैंक अफ चाइनासँग ३१ मार्च २०१५ मा हस्ताक्षर गरेको ऋण सम्झौतामा भएका केही प्रतिकूल प्रावधानहरु पालना नगरिए युगाण्डाका सार्वभौम सम्पत्तिहरु बेइजिङको नियन्त्रणमा जानेछन्’ युगाण्डाको द मनिटरको एक रिपोर्टमा भनिएको थियो ।

रिपोर्टमा २०१५ को सम्झौतामा भएको व्यवस्थाअनुसार ऋणदाताले युगाण्डाको विमानस्थल कब्जा गर्न चाहेका कुनै सार्वभौम प्रतिरक्षाले यसलाई रोक्न नसक्ने बताइएको थियो । रिपोर्टका अनुसार युगाण्डाले यो सम्झौतामा भएका केही व्यवस्थाहरुलाई पुनरावलोकन गर्नको लागि एक्सिम बैंकसँग छलफल गर्न ११ सदस्यीय प्रतिनिधिमण्डल बेइजिङ पठाएको भए पनि आफ्नो उद्देश्यमा असफल भएको रिपोर्टमा जनाइएको थियो ।

रिपोर्टमा बेइजिङ गएको प्रतिनिधि मण्डलको नेतृत्व चीनका लागि युगाण्डाका राजदूत डा. क्रिस्पस कियुंगाले गरेको र यो टोलीमा युगाण्डाको श्रम मन्त्रालय, विदेश मामिला मन्त्रालय, अर्थ मन्त्रालयका प्रतिनिधि तथा युगाण्डडा नागरिक उड्डयन प्राधिकरण र महान्यायाधिवक्ताका प्रतिनिधि समेत सहभागी रहेको रिपोर्टमा दावी गरिएको थियो । युगाण्डाको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता र चीनको अफ्रिकी मामिलाका महानिर्देशकले यो रिपोर्टको खण्डन गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *