विमानको पाङ्ग्रामा झुण्डिएर मृत्युको यात्रा, साढे २ घण्टा उडिरहेको जहाजबाहिर झुण्डिए

डिसी नेपाल
१३ मंसिर २०७८ १२:५३

काठमाडौं। अमेरिकामा एक व्यक्तिले विमानको ल्याण्डिङ गियरमा झुण्डिएर यात्रा गरे । विमान करिब २ घण्टा ३० मिनेटसम्म हावामा उडिरह्यो । त्यो पूरै समय यी व्यक्ति पाङग्रामै झुण्डिइरहे । विमान अवतरण गर्दा विमानस्थलका कर्मचारीहरुले ती व्यक्तिलाई ल्याण्डिङ गियरमा देखे । कर्मचारीहरुले उनलाई तत्काल अस्पताल लिएर गए जहाँ उनको अवस्था ठिक बताइएको छ ।

डेलीमेलको रिपोर्टअनुसार ग्वाटेमालाबाट अमेरिकाको मियामीको लागि एक अमेरिकी विमान उडेको थियो । तर विमानभित्र रहेका यात्रीहरुबाहेक विमानमा अर्का एक व्यक्ति पनि थिए । यी व्यक्ति विमान भित्र नभइ विमान बाहिर ल्याण्डिङ गियरमा थिए । ग्वाटेमालाबाट मियामी पुग्न विमानलाई करिब २ घण्टा ३० मिनेट लाग्यो । त्यो पूरै समय यी व्यक्ति ३३ हजार फिट उचाइमा ल्याण्डिङ गियरमै बसे । आश्चर्यको कुरा त्यहाँ अत्याधिक चिसो हुँदा पनि यी व्यक्ति खसेनन् र जीवितै बचे ।

कस्टम विभागले एक बयानमा भनेको छ ‘मियामी विमानस्थलमा २६ वर्षका एक व्यक्तिलाई समातिएको छ जो ग्वाटेमालाबाट आएको एक विमानको ल्याण्डिङ गियर बक्समा थिए ।’ शनिबार भएको यो घटनाको एउटा भिडियो पनि सार्वजनिक भएको छ । भिडियोमा विमान अवतरण गरेपछि विमानस्थल कर्मचारीले ती व्यक्तिलाई ल्याण्डिङ गियरबाट निकालिरहेको देख्न सकिन्छ । यी व्यक्ति निकै डराएका थिए । उनलाई एम्बुलेन्सबाट नजिकैको अस्पताल लगियो ।

विमानको ल्याण्डिङ गियरमा बसेर मानिसहरुले यसरी अवैध तरिकाले विकसित देश प्रवेश गर्ने प्रयास गरेका घटना पहिले पनि भएका छन् । तर, धेरैजसो घटनामा यसरी यात्रा गर्ने व्यक्ति चिसोका कारण खसेर, ल्याण्डिङ वा टेकअफका क्रममा च्यापिएर वा ल्याण्डिङ गियरमै कठ्यांग्रिएर मरेका छन् । यसरी यात्रा गर्ने व्यक्ति जीवितै बचेका घटना विरलै भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *