बारबाडोसमा महारानी एलिजाबेथलाई राष्ट्रप्रमुखबाट हटाएर गणतन्त्रको घोषणा गरिँदै
काठमाडौं। क्यारेबियन देश बारबाडोसमा आज बेलायती महारानी एलिजाबेथलाई राष्ट्रप्रमुखबाट हटाएर गणतन्त्रको घोषणा गरिँदैछ । स्थानीय समयअनुसार आज सोमबार राती बारबाडोस गणतन्त्र घोषणा हुनेछ । आज बेलायती राजकुमार चार्ल्सले बारबाडोसमा आयोजित एक कार्यक्रममा आफ्नी आमाले बारबाडोसलाई उसको सार्वभौमसत्ता हस्तान्तरण गरेको सन्देश पढेर सुनाउनेछन् । यससँगै बारबाडोस संसारको कान्छो गणराज्य बन्नेछ ।
आफ्ना समुद्री तटहरु र क्रिकेटप्रतिको प्रेमका लागि प्रसिद्ध बारबाडोसमा आज राष्ट्रप्रमुखको रुपमा गभर्नर जनरल सेन्ड्रा मेसनले महारानी एलिजाबेथ द्वितीयलाई प्रतिस्थापन गर्नेछिन् । समाचार एजेन्सी एएफपीका अनुसार सोमबार बेलुकादेखि मंगलबारसम्म हुने यो समारोहमा सैन्य परेड र उत्सव हुनेछ । कार्यक्रममा बेलायती सिंहासनका उत्तराधिकारी राजकुमार चार्ल्सले मेसनलाई राष्ट्रपतिको पदले सम्मानित गर्नेछन् ।
हस्तान्तरण समारोहमा गरिने भाषणमा राजकुमार चार्ल्सले दुई देशबीचको राम्रो सम्बन्ध जारी राख्नेतर्फ ध्यान केन्द्रित गर्नेछन् । बारबाडोसका जनतामाथि बेलायतको शताब्दीऔंदेखि प्रभाव रहिआएको छ । यो देश १८३४ सम्म दासत्वले जकडिएको थियो । १९६६ मा यो देशले स्वतन्त्रता पाएको हो । गएको अक्टोबरमा भएको निर्वाचनमा बारबाडोसका जनताले मेसनलाई आफ्नो पहिलो राष्ट्रपतिको रुपमा चयन गरे । यसको ठिक एक वर्ष पहिले प्रधानमन्त्री मिया मोटलीले बारबाडोर पूर्ण रुपमा गणतन्त्र बन्ने घोषणा गरेका थिए ।
विश्वभरमा भइरहेको ब्ल्याक लाइभ्स म्याटर आन्दोलनहरुबाट प्रभावित भएर स्थानीय कार्यकर्ताहरुले गत वर्ष बेलायती एडमिरल लर्ड होरेशियो नेल्सनको एक प्रतिमा हटाइदिएका थिए । यो प्रतिमा २ शताब्दीसम्म नेशनल हिरोज स्क्यायरमा उभिइरहेको थियो । केहीले बेलायती महारानीको शासनकालको अन्त्यलाई वित्तिय सुधारको दिशामा एक आवश्यक कदमको रुपमा हेरेका छन् । केहीले भने यो समारोहमा राजकुमार चार्ल्सलाई निमन्त्रण दिने र उनलाई बारबाडोसको सर्वोच्च सम्मान प्रदान गर्ने निर्णयको आलोचना पनि गरेका छन् ।
बारबाडोस एक टापु देश हो जुन क्यारेबियन क्षेत्रमा पर्छ । एटलान्टिक महासागरले घेरिएको यो देश उत्तरी अमेरिकामा रहेको टापुहरुको समूह लेसर एन्टिलेस अन्तर्गत पर्छ । यो देशको आधिकारिक भाषा अंग्रेजी हो । यहाँका जनतालाई बारबाडियन भनिन्छ । यहाँ विश्वको तेस्रो सबैभन्दा पुरानो संसद छ । १६२७ मा अंग्रेजहरुले यहाँ एक बस्ती बसाएर सूर्ती र कपासको खेती सुरु गरेका थिए ।
Facebook Comment