पुरानो पुस्ताको अन्तिम जिल्ला सभापति बन्न सक्छुः खोटाङ सभापति राई
खोटाङ । नेपाली कांग्रेस खोटाङका नवनिर्वाचित सभापति विष्णुकुमार राईले आफूलाई ‘पुरानो पुस्ताको अन्तिम सभापति’ हुनसक्ने बताएका छन् ।
कांग्रेसको नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिन नेपाल प्रेस युनियनले सोमबार कांग्रेस पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा जिल्ला सभापति राईले पछिल्लो समय पार्टीमा पुवा पुस्ताको उपस्थिति बाक्लो हुँदै गएको अवस्थामा आफू जिल्लामा पुरानो पुस्ताको अन्तिम सभापति हुनसक्ने बताएका हुन् ।
‘भर्खरै सकिएको अधिवेशनमा पुरानो पुस्ताबाट नयाँ पुस्तामा नेतृत्व लैजान युवाले पहल कदमी गर्नुभयो । तर ५० कै दशकका नेतृत्वबीचबाट नेता छानिएको छ । म नै पुरानो पुस्ताको अन्तिम सभापति हुन सक्छु,’ सभापति राईले भने, ‘त्यस कारण म पुरानो पुस्ता र नयाँ पुस्ताबीचको पुल बन्न सक्छु । ममाथि पुरानो पुस्ताको मनोभावनालाई समेट्दै नयाँ पुस्ताको उत्साहपूर्ण मनोभावनालाई समाहित गर्नुपर्ने दायित्व थपिएको छ । यो काल खण्डमा मैले निकै मेहनत गर्नुपर्ने अवस्था छ ।’
नवनिर्वाचित सभापति राईले जनप्रतिनिधि गाउँ–गाउँमा पुगे पनि विकास निर्माणको काम हुन नसकेको टिप्पणी गरे । प्रतिनिधिसभा सदस्य विशाल भट्टराई गाउँ–गाउँमा हिँडिरहेको भए पनि विकास निर्माणको सवालमा अपेक्षित प्रगति हुन नसकेको सभापति राईको संकेत थियो ।
‘अहिलेका जनप्रतिनिधि गाउँ–गाउँमा हिँडिरहनु भएको छ तर विकास निर्माणको सवालमा साह्रै निम्छरो काम भएको छ,’ उनले भने, ‘गाउँमा डुलेर वा उपस्थिति देखाएर मात्र हुन्न । केन्द्रीय तहबाट जति विकास हुन पर्थ्यो त्यति नभएको गुनासो सुनिएको छ ।’
सभापति राईले पछिल्लो समय पार्टीमा गुटगत र व्यक्तिवादी राजनीति हाबी भएको उल्लेख गरे । पार्टी विचारले चलाउनु पर्ने उनले बताए । ‘व्यक्ती ठूलो कुरो होइन । व्यक्ती नहुँदा पनि पार्टी चल्छ,’ उनले भने, ‘विचारका हिसाबले पार्टी चलाउनु पर्छ । हामी पार्टीको विचारसँग केन्द्रित हुनुपर्छ ।’
चुनावमा कसैले जितेको र कसैले हारेको नभै वैधानिक अभ्यास मात्र भएको सभापति राईले बताए । कार्यक्रममा नवनिर्वाचित उपसभापति इवन राई, सचिव ज्ञानेन्द्र जोशी लगायतले सम्बोधन गरेका थिए । प्रेस युनियनले गाउँरनगर समिति, जिल्ला कार्य समिति, प्रदेश र संघीय महाधिवेशन प्रतिनिधिलाई बधाई तथा शुभकामना दिएको हो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment