जुन मोडलको प्रेममा परेर साढे ९ करोड रुपैयाँ पठाइदिए, उनी बुढी महिला रहिछिन्
काठमाडौं। एक व्यवसायिक भलिबल खेलाडीलाई एउटी महिलाले नराम्रोसँग ठगेकी छिन् । यी खेलाडी ब्राजिलकी एक मोडलसँग भर्चुअल रुपमा डेटिङ गरिरहेका थिए । यस क्रममा उनले ती मोडललाई ७ लाख युरो (साढे ९ करोड रुपैयाँ) भन्दा धेरै पैसा पनि पठाइसकेका थिए । तर, जब खेलाडीले आफूले डेट गरिरहेकी कथित मोडलको वास्तविकता थगाहा भयो उनी छाँगाबाट खसेझैं भए । जुन मोडललाई उनले डेट गरिरहेका थिए उनी ५० वर्षकी महिला थिइन् ।
इटलीका व्यवसायिक भलिबल खेलाडी रोबर्टो काजानिगा इटलीको डिभिजन २ भलिबल खेलाडी हुन् । उनलाई कैयौं वर्षसम्म लागिरह्यो कि उनी ब्राजिलकी मोडल एलेसेन्ड्रा एम्ब्रोसियोसँग डेट गरिरहेका छन् । उनीहरुको कहिल्यै भेट भने भएको थिएन । उनीहरु कैयौं वर्षदेखि भर्चुअल रुपमा डेटिङ गरिरहेका थिए । तर, वास्तविक एलेसेन्ड्रालाई भने यसबारे केही थाहा थिएन । उनी त अहिले अर्का मोडल रोबर्ट लीसँग डेट गरिरहेकी छिन् र अहिले विदा मनाउन हवाइ गएकी छिन् ।
खेलाडी रोबर्टोका अनुसार २००८ मा उनलाई उनका एक साथीले एउटा फोन नम्बर दिएका थिए । यो नम्बर कथित रुपमा माया नामकी एक महिलाको थियो र माया रोबर्टोसँग भेट्न चाहन्थिन् । केही समयमै यी दुईबीच फोनमा कुराकानी हुन थाल्यो । महिलाले पनि आफ्नो नाम माया नभइ एलेसेन्ड्रा भएको दावी गरिन् । उनको कुरा रोबर्टोले पनि पत्याए ।
इटलियन मिडियासँग कुरा गर्दै रोबर्टोले बताएअनुसार आफूलाई एलेसेन्ड्रा दावी गर्ने महिलाको खातामा उनले ७ लाख युरो पैसा पनि पठाए । रोबर्टोका अनुसार उनी जहिले महिलासँग भेट्न चाहन्थे ती महिलाले कहिले बिरामी भएको, कहिले काम भएको जस्ता अनेकौं बहाना बनाउँथिन् । रोबर्टोलाई भने उनको आवाजसँग नै प्रेम भएको थियो र उनीहरु हरेक दिन कुरा गर्थे ।
अहिले यो ठगीको पर्दाफास भएको छ । डेली मिररमा प्रकाशित एक रिपोर्टका अनुसार रोबर्टो काजानिगालाई ठगी गर्ने यो गिरोहमा तीन जना थिए । यी ३ जनामध्ये एक जना म्यानुएला नामका रोबर्टोका साथी पनि थिए । उनैले रोबर्टोलाई महिलाको फोन नम्बर दिएका थिए । यसका अलावा म्यानुएलाका प्रेमी र सार्डिनियाकी ५० वर्षकी महिला भेलेरिया पनि थिए । भेलेरियाले नै आफू एलेसेन्ड्रा भएको नाटक गरेकी थिइन् ।







डिसी नेपाल







Facebook Comment