सहकारी समृद्ध भए देश समृद्ध बन्छः प्रदेश प्रमुख खापुङ

डिसी नेपाल
१५ मंसिर २०७८ १८:५२

काठमाडौँ ।प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले सहकारी समृद्ध भए मात्र मुलुक समृद्ध हुने धारणा व्यक्त गरेका छन् ।

झापाको पुरानोमध्येको महेन्द्रद्वार सहकारी संस्थाको काँकडभिट्टामा आज भएको ३२औँ वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा उनले गरिबी र बेरोजगारी समस्या हल गर्न सहकारीले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । “देशमा बढिरहेको गरिबी र बेरोजगारी समस्याको अन्त्य सहकारीले गर्न सक्दछ”, उनले भने, “उत्पादनमूलक क्षेत्रमा लगानी गरेर सहकारीले नेपालीको जीवनस्तर उकास्न मद्दत पुर्‍याइरहेको छ । देशलाई आर्थिक, सामाजिक र सांस्कृतिकरूपमा बलियो बनाउन सहकारीले योगदान दिनुपर्छ ।”

नेपालीको आयस्रोत कमजोर रहेको, गरिबीले सताएको र रोजगारीको खोजीमा विदेशिनुपर्ने बाध्यता सिर्जना भएको उल्लेख गर्दै उनले शिक्षा, स्वास्थ्य र पर्यटन विकासका अग्रसर हुन सहकारी संस्थालाई आग्रह गरे । सरकारले तीन खम्बे अर्थनीतिअन्तर्गत सहकारीलाई आर्थिक विकासको महत्वपूर्ण आधारको रूपमा लिएको उल्लेख गर्दै प्रमुख प्रमुख खापुङले सहकारी क्षेत्रलाई व्यापार घाटा न्यूनीकरण र निर्यात प्रवद्र्धनमा जोड दिने गरी आर्थिक गतिविधि बढाउन सुझाव दिए ।

उनले आयात प्रतिस्थापन हुने अभियान आजको मुलुकको आवश्यकता भएको र त्यसमा सहकारी क्षेत्रले अग्रणी भूमिका खेल्नुपर्ने बताउँदै विदेशबाट प्राप्त रेमिट्यान्समा मात्र मुलुकको अर्थतन्त्र चल्ने अहिलेको अवस्थामा परिवर्तन ल्याउन जरुरी रहेको औँल्याए । संस्थाका अध्यक्ष राजकुमार दाहालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रदेश प्रमुख खापुङले संस्थाका संस्थापक, पूर्वअध्यक्ष, कार्य समितिका पूर्वसदस्य र सल्लाहकारलगायत ३६ जनालाई सम्मान गरेका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *