रिपोर्टिङमा गएका सञ्चारकर्मीमाथि हातपात – Dcnepal

रिपोर्टिङमा गएका सञ्चारकर्मीमाथि हातपात

सांकेतिक तस्बिर


काठमाडौँ ।सोलुखुम्बुको सल्लेरीमा रिपोर्टिङका क्रममा सञ्चारकर्मीमाथि हातपात भएको घटनाप्रति विभिन्न सङ्घ सङ्गठनले आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेका छन् । घटनाको विषयमा सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सोलुखुम्बु, पत्रकार महासङ्घ प्रदेश नं १, प्रेस सेन्टर प्रदेश नं १, जिल्ला शाखासहितले विज्ञप्ति जारी गरेका हुन् ।

यस्तै सोलु एफएमले समेत विज्ञप्ति जारी गर्दै दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ भने पीडित पत्रकारले जाहेरी दरखास्त दिएको बताएका छन् । नेपाली कांग्रेसको जिल्ला कार्यसमिति सभापतिका लागि मङ्गलबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा रिपोर्टिङमा गएका उज्यालो अनलाइनका जिल्ला संवाददातासमेत रहेका सोलु एफएमका समाचार सहायक सुवास दर्नाल र सोलु एफएममै कार्यरत रमन वनमाथि हातपात भएको थियो ।

हातपात गर्नेमा नेपाल विद्यार्थी सङ्घका जिल्ला उपाध्यक्ष जीवन बस्नेत, क्षेत्रीय प्रतिनिधि प्रदीप बस्नेत, नेविसङ्घ माप्यदूधकोशी अध्यक्ष विभूषण राईको समूह रहेको पत्रकार दर्नालले बताए । मतगणनास्थल बाहिर स्थलगत रिपोर्टिङमा रहेका सञ्चारकर्मीमाथि आफ्नो अन्तरवार्ता लिन धम्की दिँदै आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् । आक्रमणबाट रिपोर्टिङमा प्रयोग गरिएको माइक, रेकर्डरसहितका सामग्रीमा समेत क्षति पुगेको छ ।

रिपोर्टिङका क्रममा पत्रकारमाथि यसरी आक्रमण भएको जिल्लामा पहिलो घटना हो । यता जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले भने दोषीउपर कानूनी कारबाहीको प्रक्रिया तत्काल अघि बढाउने जनाएको छ ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो