एनएमबि बैंकले नेपाली बैंकिंग इतिहासमा पाएको एसियाको उत्कृष्ट अवार्ड के हो ?

डिसी नेपाल
१६ मंसिर २०७८ १३:२९

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘क’वर्गको इजाजतप्राप्त एनएमबि बैंकले ‘बैंक अफ दि इयर एसिया–२०२१’ पाएको छ । जुन, नेपाली बैंकिंग इतिहासमा पहिलो पटक प्राप्त भएको पुरस्कार हो ।

एनएमबि बैंक यो पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली बैंक बनेको छ । साथै, एनएमबिले ‘द बैंक अफ द इयर २०२१’ को अवार्ड पनि जितेको छ । द बैंकर म्यागजिन, लण्डनबाट पुरस्कारको आधिकारिक घोषणा भएकै दिन काठमाडौंस्थित एभरेष्ट होटलमा पत्रकार सम्मेलन आयोजना गरी बैंकले अवार्डको घोषणा गरेको हो ।

कार्यक्रमको सुरुमा सो अवार्डको बारेमा ‘इतिहास रच्दै…… एनएमबि बैंक’ भनेर सबैलाई कैतुहलतामा राखिएको थियो । सोही कैतुहलताको केही समयपछि नै बैंकले पाएको अवार्डको अनावरण गरिएको थियो ।

एनएमबि बैंकका संचालक समितिका अध्यक्ष पवनकुमार गोल्यान, बैंकका निर्देशक(एफएमओ, नेदरल्याण्डको प्रोमोटर समुहको प्रतिनिधि) निको पिल, संचालक समितिका सदस्यहरु जिवनकुमार कटुवाल, उत्तम भ्लोन, शिरिष कुमार मुरार्का, बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले पत्रकार सम्मेलनमा उक्त अवार्डको अनावरण गरेका थिए ।

सो कार्यक्रममा बैंकका प्रमुख व्यापार र रणनीतिक अधिकृत सुदेश उपाध्यायले बैंकको पहुँच र बैंकले हालसम्म गरेको कामको बारेमा जानकारी गराएका थिए । साथै, उनले राम्रो काम गरेवापत एनएमबि बैंकले पाएको अन्य अवार्डहरुबारेमा समेत जानकारी गराएका थिए ।

प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले एसियाको सर्वोत्कृष्ट बैंक हुन पाउदा खुसी लागेको भन्दै अवार्ड पाउनुको कारण प्रष्ट्याएका थिए । साथै, उनले यो अवार्ड जित्नु भनेको नेपाल राष्ट्र बैंकको र नेपालीहरुको जित भएको बताएका थिए । साथै, नेपाललाई आत्मनिर्भर कसरी बनाउन सकिन्छ भन्ने हिसाबले एनएमबि बैंकले काम गर्दै आएको सिईओ केसीले जानकारी गराएका थिए ।

कार्यक्रममा संचालक समितिका अध्यक्ष गोल्यानले सो अवार्ड पाउनको लागि चार वर्षअघि देखेको सपना अहिले आएर पूरा भएकोमा गर्वान्वित भएको बताएका थिए । उनले बैंकको टिमकै सल्लाह सुझावनुसार स–साना उद्यमीलाई उत्थान हुने गरी र नेपालको कृषि, हाइड्रोलगायत सानाठूला सबै क्षेत्रमा फड्को मार्न सक्ने गरी लगानी गरेकाले पनि यो अवार्ड पाउन सफल भएको बताएका थिए । साथै, उनले बैंकले नेपालको माटो र नेपाली जनतालाई सुहाउँदो काममा निरन्तरता दिने बताएका छन् ।

पत्रकार सम्मेलनअघि बैंकका अध्यक्षले, सञ्चालक समितिका सदस्यहरु तथा एनएमबिका प्रमुख कार्यकारी अधिकृतको उपस्थितिमा बैंकमै सो उपाधि प्रधानमन्त्री शेर बहादुर देउवाको हातबाट ग्रहण गरेका थिए । सो अवसरमा उपाधिका लागि बैंकलाई बधाई दिँदै प्रधानमन्त्री देउवाले ‘दि बैंक अफ दि इयर एसिया २०२१’ जस्तो विश्व–प्रतिष्ठित अवार्डद्वारा सम्मानित भएर एनएमबि बैंकले रचेको इतिहास यस बैंकले मात्रै नभई नेपाली वित्तीय क्षेत्रको नै ठुलो उपलब्धि भएको बताएका थिए ।

बेलायतको लण्डनबाट प्रकाशित हुने प्रसिद्ध म्यागजिन ‘दि बैंकर’को निर्णायक मण्डलले ‘दि बैंक अफ दि इयर एसिया २०२१’ अवार्डको लागि एनएमबि बैँकलाई छनौट गरेको हो । उक्त अवार्डबाट सम्मानित एनएमबि बैंक चीन, भारत, हङकङ, दक्षिण कोरिया र जापान जस्ता एसियाकै कडा प्रतिस्पर्धीहरुलाई पछि पार्दै एसियाकै उत्कृष्ट बैंक घोषित भएको छ ।

सन् २००० मा स्थापित ‘बैंक अफ द इयर अवार्ड’ प्रत्येक देशको सर्वोत्कृष्ट बैंक तथा पश्चिमी युरोप, मध्य–पूर्वी युरोप, एसिया, अमेरिका, मध्य–पूर्व र अफ्रिका गरी ६ वटा महादेश भरिकै सर्वोत्कृष्ट बैंकहरुलाई छुट्टा–छुट्टै प्रदान गरिन्छ । यो पुरस्कारलाई विश्वभरका बैंकहरूको मूल्याङ्कन गर्ने र विश्वकै अग्रणी संस्थाको रुपमा मान्यता प्रदान गर्ने मानकको रूपमा लिइन्छ ।

बैंकको वृद्धि र कार्यसम्पादनको शैली, बैंकको रणनीतिक पहलहरू, डिजिटल प्रविधिको उपयोग गर्दै ल्याइएका नवीनतम सेवा र उत्पादनहरु, दिगो विकासका लागि गरिएका गतिविधिहरू र प्रतिकूल परिस्थितीको सामना गर्ने क्षमता जस्ता विभिन्न मापदण्डको आधारमा यो अवार्ड प्रदान गरिन्छ ।

‘बैंक अफ दि इयर’ अवार्ड के हो ?

बैंक अफ दि इयर अवार्ड सन् १८८८ मा स्थापित विश्व प्रतिष्ठित दि फाइनान्सियल टाइम्स लण्डनद्वारा प्रकाशित हुने दि बैंकर म्यागेजिनले हरेक वर्ष विश्वभरिका प्रत्येक राष्ट्रमा सञ्चालनमा रहेका बैंकहरु मध्ये एक सर्वोत्कृष्ट बैंके चयन गरिदिने वित्तीय क्षेत्रको अन्तर्राष्ट्रिय सम्मान हो ।

सन् २००० बाट शुरु गरिएको बैंक अफ दि इयर अवार्ड प्रत्येक देशका सर्वोत्कृष्ट बैंक तथा यिनै सर्वोत्कृष्ट बैंकहरुमध्ये पश्चिम यूरोप, मध्य तथा पूर्वी यूरोप, एसिया, अमेरिका महादेश, मध्यपूर्व तथा अफ्रिका गरी ६ विश्वव्यापी क्षेत्रहरुकाद १–१ बैंकहरु गरि ६ वटा बैंकलाई क्षेत्रीयस्तरको सर्वोत्कृष्ट बैंक र विश्वव्यापि विजेताको रुपमा १ सर्वोत्कृष्ट बैंकलाईमात्र प्रदान गरिन्छ ।

बैंक अफ दि इयरको छनौटको आधार के हो ?

बैंक अफ दि इयर उपाधि विजेता छनौटका आधारमा बैंकहरुको समग्र वित्तिय प्रदर्शन तथा वृद्धि, रणनैतिक पहलहरु, प्रविधिको सदुपयोग तथा डिजिटलाइजेशनको अग्रता, नवीन बैंकिङ्ग सुविधाहरुको विकास, दीगो बैंकिङ्गका पहलहरुका साथै नकारात्मक बाह्य चुनौतीहरुको सामना गर्नसक्ने लचिलो तथा दू्रतव्यवस्थापन जस्ता विभिन्न मूल्यांकन मापदण्डहरु हुन् ।

एनएमबि बैंकले यो ऐतिहासिक पुरस्कार जित्नुको कारण के हो ?

एनएमबि बैंकले यो उपाधि जित्नुको प्रमुख कारणहरु भनेको यस बैंकले विगतका वर्षहरुदेखि नै संस्थागत गर्दै गइरहेको दीगो बैंकिङ्गको अभ्यास, डिजिटल रुपान्तरण प्रतिका लागि प्रतिबद्धता तथा उच्च संस्थागत सुशासन हुन् ।

अर्थतन्त्रका वास्तविक क्षेत्र तथा हरित परियोजनाहरुमा गरेको लगानीका साथै दीगो तथा मूल्य मान्यतामा आधारित बैंकिङ्ग अभ्यासहरु प्रतिको समग्र प्रतिबद्धतालाई सम्मान गर्दै एनएमबि बैंकलाई यो उपाधि प्रदान गरिएको हो । यसका साथै डिजिटल रुपान्तरणका लागि बैंकको निरन्तर अभियान तथा बैंकिङ्ग क्षेत्रकै पहिलो डिजिटल सेवाहरुको शुरुवातले पनि उपाधि जीतमा महत्वपूर्ण योगदान गरेको छ । यो अवार्ड बैंकको सञ्चालक समितिको सन्तुलित संरचना तथा व्यवसायिक व्यवस्थापनको लागि गरिएको कदर पनि हो ।

बैंक अफ दि इयर एसियाका विगतका वर्षहरुमा को को विजेता भएका थिए ?

विगत ३ वर्षमा एसियाको सर्वोत्कृष्ट बैंकका रुपमा दक्षिण कोरियाको वुरी बैंक (कूल सम्पत्तिः ३०० अर्ब अमेरिकि डलर), एग्रिकल्चरल बैंक अफचाइना(कूल सम्पत्तिः ३,३०० अर्ब अमेरिकि डलर), डिबिएस बैंक सिंगापुर (कूल सम्पत्तिः ३५० अर्ब अमेरिकि डलर) जस्ता विश्वकै चर्चित बैंकहरु विजेता भएका थिए । एसिया क्षेत्र चीन, दक्षिण कोरिया, जापान, भारत, सिंगापुर जस्ता विश्वकै समृद्घ तथा वित्तीय क्षेत्रका अग्रणी राष्ट्रहरुको उपस्थिति भएको सबैभन्दा कडा प्रतिस्पर्धा हुने क्षेत्र हो ।

एनएमबि बैंकले डिजिटल रुपान्तरण र दिगो बैंकिङ प्रयासलाई प्राथमिकता दिँदै नेपाली बैंकिङ उद्योगमै पहिलोपल्ट स्थानीय ऋण–पत्रजारी गर्ने, विदेशी ऋण सम्झौताजारी गर्ने, बैंकिङ कारोबारको लागि ओम्नीच्यानलको प्रयोग गर्ने, भिडियो कलमार्फत केवाईसी अपडेट गर्ने सुविधा ल्याउने र ‘एनएमबि सापटी’मार्फत २४ घण्टाभित्रै कागजी झन्झट बिना सापटी कर्जा प्रवाह गर्ने जस्ता नवीनतम सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

साथै, बैँक पार्टनरशीप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्सको समिति सदस्य र ग्लोबल अलायन्स फर बैंकिङ अन भ्याल्युज सदस्य बैंक पनि हो । बैंकको देशभरी गरी २ सय १ शाखाहरु छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *