कांग्रेस महाधिवेशन : एक हप्ता बाँकी रहँदा पनि टुंगिएन उम्मेद्वार

सम्भव सिंह ठकुरी
१६ मंसिर २०७८ १५:१५

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ केन्द्रीय महाधिवेशन आउन करिब एक हप्ता मात्र बाँकी रहेको छ। महाधिवेशनको मिति नजिकिएसँगै बाक्लो सरगर्मी सुरु भएको छ। जति सरगर्मी चलेको छ,त्यति नै केन्द्रीय नेताहरुबीच नेतृत्वको रस्साकस्सी पनि चलेको छ।

महाधिवेशनको मिति संघार मै आइपुगेपनि उम्मेदारको टुँगो लागेको छैन। संस्थापन समूहबाट प्रधानमन्त्री तथा वर्तमान कांग्रेस सभापति शेरबहादुर देउवा नै निर्विकल्प केन्द्रीय सभापति पदको उम्मेद्वार हुन्। तर त्यसपछिको पदाधिकारी पद उपसभापति, महामन्त्री, सहमहामन्त्री पदमा कसलाई उम्मेद्वार बनाउने भन्नेमा सो समूह अझै अनिर्णित छ।

देउवालाई सभापतिको उम्मेदार दिँदै गर्दा उनलाई सकस छैन। तर पदाधिकारीमा क–कसलाई उम्मेदार बनाउने भन्नेमा सकस देखिएको छ। तत्कालीन फोरम (लोकतान्त्रिक) बाट कांग्रेसमा प्रवेश गरेका विजयकुमार गच्छदार र राप्रपा परित्याग गरि कांग्रेसको राजनीतिमा आएका सुनीलबहादुर थापा पनि देउवा समूहमा नै रहेकाले उनीहरुलाई पनि उचित जिम्मेवारीका साथ लानुपर्ने दवाब सो समूहमा रहेको छ।

सो समूहबाट उपसभापतिका लागि विजयकुमार गच्छदार र पूर्णबहादुर थापा आकांक्षी देखिएका छन्। तर महामन्त्री र सहमहामन्त्रीमा दर्जनौं नेता आकांक्षी देखिएपछि समूहमा किचलो कायमै छ। तर उक्त समूहका नेता मिन विश्वकर्मा भने उम्मेदारी चयनमा सकस नहुने तर्क गर्छन्।

‘समूहमा धेरै प्रभावशाली नेताहरु हुनुहुन्छ र आकांक्षी पनि धेरै हुुनुहुन्छ। हामी अहिले प्रदेश अधिवेशनमा होमिएका छौँ,’ उनले भने, ‘१९ गते प्रदेश अधिवेशन सम्पन्न भइसक्छ। त्यसपछि हामी छलफलबाट भूगोल र समावेशीताको आधारमा उम्मेदार चयन गर्ने छौँ।’

संस्थापन इतर समूहमा त झनै किचलो छ। पदाधिकारी त परै जाओस् केन्द्रीय सभापतिको उम्मेदारी नै कसलाई बनाउने भन्नेमा इतर समूह रुमल्लिएको छ। इतर समूहका शिर्ष नेताहरुबीच भएको पटक–पटकको बैठकले साझा उम्मेदार खडा गर्ने भनेपनि नेताहरुको आ–आफ्नो अडानको कारण नेताहरुलाई सकस परेको छ।

रामचन्द्र पौडेल, डा.शशांक कोइराला, डा.शेखर कोइराला, प्रकाशमान सिंह चारै जना नेता इतर समूहबाट साझा उम्मेदारको दौडमा रहेका छन्। साझा उम्मेदारी बनाउने विषयमा धेरै पटक बैठक बसेपनि बैठकले कुनै सार्थकता पाएको छैन।

तर सो समूहका नेता अर्जुननरसिंह केसी भने आफ्नो प्रयत्न साझा उम्मेदार बनाउनेमै रहेको बताउँछन्। ‘लामो समयदेखि मेरो प्रयत्न हाम्रो समूहबाट साझा उम्मेदार बनाउने मै हो। आजबाट हामी प्रदेश अधिवेशनमा होमिएका छौँ। योबीचमा पनि हामी छलफलमा बस्छौँ। तर मलाई लाग्छ २०÷२१ गतेसम्म हामी टुंग्याउछौँ।’

युवा मतदाता निर्णायक

कांग्रेस नेतृत्वमा संधै पाका नेता हावी हुने गरेको इतिहास छ। तर १३ औँ महाधिवेशन नै पुस्तान्तरणको बहसले राम्रो प्रभाव जमायो। १३ औँ महाधिवेशनमा ४० पनि नपुगेका गगन थापा महामन्त्रीको उम्मेदार बने। विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, धनराज गुरुङ, कल्याण गुरुङ, गुरुराज घिमिरेलगाएतका दर्जनौ युवा नेता केन्द्रीय समितिमा निर्वाचित भए।

तर ५ वर्ष पछाडि १४ औँ महाधिवेशनको संघारमा आइपुग्दा कांग्रेस नेतृत्वमा युवापंक्तीको ‘क्रेज’ उल्लेखनीय रुपमा बढ्यो। ७७ वटै जिल्लाहरुबाट अधिकांक्ष प्रदेश र केन्द्रीय महाधिवेशन प्रतिनिधिमा युवा उमेर समूहका निर्वाचित भएका छन्।

सिन्धुपाल्चोक जिल्लाबाट निर्वाचित सबैभन्दा कान्छी महाधिवेशन प्रतिनिधि १९ वर्षीया करिना पुरी, सोलुखुम्बुबाट निर्वाचित २१ वर्षे महाधिवेशन प्रतिनिधि पुजा फुयालदेखि कपिलबस्तुबाट निर्वाचित १९ वर्षे महाधिवेशन प्रतिनिधि सूचना मिश्रा बलियो उदाहरण बनेका छन्।

१९ बर्षीया महाधिवेशन प्रतिनिधि करिना पुरी पनि अबको कांग्रेस नेतृत्वमा व्यापक रुपान्तरण हुनुपर्ने बताउँछिन्। कांग्रेसका अग्रज नेता शेरबहादुर देउवा रामचन्द्र पौडेलको त्यागलाई सधैँ सम्मान गर्दै यो अधिवेशनमा उनीहरु भन्दा नयाँ नेतृत्व आउनुपर्ने उनको तर्क रहेको छ।

‘कांग्रेसमा रुपान्तरणको बहस चल्दै गर्दा मलगायत देश भरबाट नै युवा प्रनिनिधि उल्लेखनीय रुपमा निर्वाचित भएर आउनुभएको छ। मलाई लाग्छ कांग्रेस नेतृत्व रुपान्तरणको संकेत पनि यही हो।उनले भनिन्, ‘त्यसैले युवाको रोजाई अग्रजलाई सम्मान गर्दै नयाँलाई मतदान हुनुपर्छ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *