नागाल्याण्डमा सेनाले जनतामाथि गोली चलाएको खुलासा, १४ जना मरेपछि सेनाले के भन्यो ?

डिसी नेपाल
१९ मंसिर २०७८ १४:००

काठमाडौं। भारतको नागाल्याण्डको मोन जिल्लामा शनिबार साँझ भएको गोलीबारीको घटनामा एक जना सेनाका जवान र १३ जना सर्वसाधारण मजदुरको मृत्यु भएको छ । कथित रुपमा यहाँ सेनाले गोली चलाएर ६ जनालाई मारिदिएपछि स्थानीय सर्वसाधारण सेनासँग नै भिडेका थिए । त्यसपछि सेनाले थप कारवाही गर्दा अन्य सर्वसधारण पनि मारिए । अचानक सर्वसाधारणमाथि गोली किन चलाइयो भन्ने प्रश्न गम्भीर बन्दै गइरहेका बेला असम राइफल्सले यस विषयमा जवाफ दिएको छ ।

असम राइफल्सले गरेको दावीअनुसार विद्रोहीहरुको सम्भावित गतिविधिको विश्वसनीय खुफिया जानकारीको आधारमा यो क्षेत्रमा विशिष्ट अभियान चलाउने योजना बनाइएको थियो । घटना र त्यसपछिको परिणामप्रति असम राइफल्सले खेद व्यक्त गरेको छ । उसले दुर्घटनामा भएका मृत्युका कारणहरुको उच्च स्तरीय जाँच भइरहेको र कानुन अनुसार उचित कारवाही गरिने पनि बताएको छ । यो घटनामा सुरक्षा बलका सदस्यहरु पनि गम्भीर रुपमा घाइते भएको र एक सैनिकको मृत्यु भएको असम राइफल्सले बताएको छ ।

यहाँ सुरक्षाबलले गोलीबारी गरेर स्थानीय गाउँलेहरुलाई मारिदिएपछि आक्रोशित गाउँलेहरुले सुरक्षा बलका गाडीहरु जलाइदिएका थिए । नागाल्याण्डका मुख्यमन्त्री नेफियो रियोले जनतासँग शान्तिको अपिल गरेका छन् । यो मामिलाको जाँचको लागि उनले एसआइटीको गठन गरेका छन् । मुख्यमन्त्रीले ट्वीट गर्दै घटना दुर्भाग्यपूर्ण र अत्यन्त निन्दनीय भएको बताएका छन् । उनले शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । केन्द्रीय गृहमन्त्री अमित शाहले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले ट्वीट गर्दै नागाल्याण्डको ओटिंगको दुर्भाग्यपूर्ण घटनाबाट धेरै व्यथित भएको बताएका छन् ।

रिपोर्टका अनुसार घटना मोन जिल्लाको ओटिंगको तिरु गाउँमा भएको हो । आक्रमणमा मारिएका व्यक्तिहरु एउटा पिकअप मिनी ट्रकबाट फर्किरहेका थिए । स्थानीय सूत्रका अनुसार घटना शनिबार बेलुकी ४ बजेको हो । लामो समयसम्म यी मानिसहरु घर नफर्किएपछि गाउँका स्वयंसेवक उनीहरुलाई खोज्न निस्किएका थिए । खोज्दै जाँदा उनीहरुको लाश भेटियो । त्यसपछि इलाकामा तनाव फैलिएको थियो । आक्रोशित गाउँलेहरुले सुरक्षा बलको गाडीमा आगो लगाइदिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *