पाकिस्तानमा श्रीलंकाली नागरिक जलाएको घटनामा १३ मुख्य अभियुक्तसहित ११८ जना पक्राउ

डिसी नेपाल
१९ मंसिर २०७८ १५:२७

काठमाडौं। पाकिस्तानको सियालकोटमा श्रीलंकाली नागरिकलाई ईशनिन्दाको आरोपमा हत्या गरी जलाइएको घटनामा अहिलेसम्म ११८ जनालाई पक्राउ गरिएको पाकिस्तानको पंजाब प्रान्तका पुलिस आइजीले बताएका छन् । पाकिस्तानी अखबार दुनियाका अनुसार २ सयभन्दा धेरै ठाउँमा छापा मारिएको छ । १६० सीसीटिभी क्यामेराको फुटेज जम्मा गरिएको छ र मोवाइल फोनको डाटाको पनि जाँच भइरहेको छ ।

उनले यो घटनाको अन्त्यमा न्याय हुने मात्र नभइ अहिलेबाटै न्याय हुँदै गरेको समेत देखिने बताएका छन् । पंजाबका कानुन मन्त्रीले घटनाको सुरुवाती जाँच रिपोर्ट मुख्यमन्त्री र प्रधानमन्त्रीलाई बुझाइएको बताएका छन् । पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीका अनुसार प्रधानमन्त्री इमरान खान स्वयंले यो घटनाको अनुसन्धानको निगरानी गरिरहेका छन् । विदेश मन्त्रालय लगातार पीडितको परिवारसँग सम्पर्कमा छ ।

अखबार जंगका अनुसार एउटा भिडियो सार्वजनिक भएको छ जसमा श्रीलंकाली म्यानेजरका एक सहयोगीले भिडसँग हात जोडेर उनलाई बचाउने कोसिस गरिरहेका छन् । तर, भिडले उनको कुरा नसुनेर म्यानेजरलाई तानेर लैजान्छन् । त्यसपछि उनको कुटेर हत्या गरेर उनको लाश जलाइएको थियो । पोस्टमार्टम रिपोर्टका अनुसार ९८ प्रतिशत लाश जलेको थियो र शरीरको जुन भाग जलेको थिएन त्यहाँका हड्डी भाँचिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *