सेनाको सिंगै टोलीविरुद्ध जनताको सामूहिक हत्याको आरोपमा मुद्दा दर्ता

डिसी नेपाल
२० मंसिर २०७८ ११:०५

काठमाडौं। भारतको नागाल्याण्डको पुलिसले शनिबार बेलुकी त्यहाँको मोन जिल्लामा नागरिकहरुमाथि गोलीबारी गरिएको घटनामा भारतीय सेनाको २१ प्यारा विशेष बलविरुद्ध स्वतः संज्ञान लिँदै मुद्दा दर्ता गरेको छ । यो घटनामा १४ सर्वसाधारण र १ जना सेनाका जवानको मृत्यु भएको थियो ।

नागाल्याण्ड पुलिसले स्पष्ट रुपमा प्यारा विशेष बलले स्थानीय पुलिसलाई सूचित नगरेको र कुनै पुलिस गाइड नलिएको तथा सेनाले नै यो गलत पहिचान भएको बताएको आधारमा ‘सेनाको उद्देश्य नागरिकको हत्या गर्नु र घाइते बनाउनु रहेको’ भन्दै सेनामाथि हत्याको अभियोग लगाएको छ ।

म्यानमारको सीमासँग जोडिएको मोन जिल्ला एएफएसपीए एक्ट अन्तर्गत पर्छ र केन्द्र सरकारको अनुमति बिना सेनामाथि मुद्दा चलाउन मिल्दैन । तर, यो निकै दुर्लभ मुद्दा हो जहाँ पुलिसले नागरिकमाथि गोली हानेर हत्या गरेको अभियोगमा सेनामाथि मुद्दा दर्ता गरेको छ ।

मोन जिल्लामा अवस्था तनावपूर्ण भएको छ तर अहिले स्थिति नियन्त्रणमा रहेको बताइउको छ । मुख्यमन्त्री नेफियु रियो आज मोन जिल्ला जाँदैछन् । सबै मृतकहरुको आजै अन्तिम संस्कार गरिँदैछ । शनिबार बेलुकी सेनाले गलत पहिचानका कारण सर्वसाधारणमाथि गोली चलाउँदा १३ जनाको मृत्यु भएको थियो । पछि अर्का एक जना घाइतेको पनि मृत्यु भयो ।

सेनाले गोली चलाएपछि आक्रोशित स्थानीयले असम राइफल्सको क्याम्पमा आक्रमण गरेका थिए । यो झडपमा घाइते भएका सेनाका एक जवानको पनि आइतबार बिहान मृत्यु भयो । राज्य सरकारले यो घटनाको जाँचको लागि ५ सदस्यीय समिति गठन गरेको छ । सेनाले पनि कोर्ट अफ इन्क्वायरीको आदेश दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *