व्यक्तिगत रिसइबी बन्यो पाकिस्तानमा श्रीलंकाली नागरिकलाई जिउँदै जलाउनुको कारण

डिसी नेपाल
२० मंसिर २०७८ १२:०१

काठमाडौं। पाकिस्तानको सियालकोटमा शुक्रबार श्रीलंकाली नागरिक प्रियंथा दिव्यवदना कुमारालाई भिडले हत्या गरेको घटनामा अहिलेसम्म यसको कारण स्पष्ट हुन सकेको छैन । पाकिस्तानी मिडियाले भने प्रियंथा मारिनुको कारण मजदुरहरुसँगको पुरानो विवाद भनेका छन् ।

केही रिपोर्टमा बताइएअनुसार प्रियंथाले फ्याक्ट्रीमा टाँसिएको एउटा स्टिकर निकालेर डस्टबिनमा हालिदिएका थिए । यो स्टिकरमा उर्दुमा लेखिएको थियो त्यसैले प्रियंथाले यसमा लेखिएको कुरा बुझेनन् । यो घटनाको त्यहाँ रहेका केही मजदुरहरुले फाइदा उठाउने कोसिस गरे । यही कारण यति ठूलो घटना घट्यो ।

शुक्रबार सियालकोटमा भिडले फ्याक्ट्रीका प्रोडक्सन म्यानेजरलाई पहिले कुटेर मारे त्यसपछि चोकमा ल्याएर जलाइदिए । घटनाका कैयौं भिडियो सामाजिक संजालमा भाइरल भइरहेका छन् । सियालकोट चेम्बर अफ कमर्सका अध्यक्ष इमरान अकबरले एक्सप्रेस ट्रिब्युनसँग कुरा गर्दै भने ‘केही मजदुर र प्रियंथाबीच पुरानो विवाद थियो । यही कारण यो घटना भयो ।’

प्रियंथा कामको विषयमा कडा थिए । यो केही मजदुरहरुलाई मन परिरहेको थिएन । यो घटनाले देशको छविलाई गहिरो धक्का लागेको बताउँदै अकबरले भने ‘हामी चाहन्छौं कि व्यवसायिक समुदाय र सरकार मिलेर यो मामिलामा विचार गरौं । हामी चाहन्छौं भविष्यमा फेरि यस्तो घटना नहोस् ।’

आइतबार प्रियंथाको पोस्टमार्टम रिपोर्ट आएको छ । रिपोर्टका अनुसार भिडले निकै निर्मम तरिकाले प्रियंथालाई मारेका थिए । उनको शरीरका ९० प्रतिशत हड्डी भाँचिएका पाइएका छन् । ९९ प्रतिशत शरीर आगोले जलेको थियो । बंगारा र टाउकोमा पनि चोट वा फ्रेक्चर पाइएको छ । उनको मेरुदण्ड तीन ठाउँबाट भाँचिएको थियो ।

पाकिस्तान सरकारले यो मामिलामा १२४ जनालाई पक्राउ गरेको छ । यी सबै तहरिक ए लब्बैक पाकिस्तान (टिएलपी) का कार्यकर्ता भएको मानिएको छ । यीमध्ये फ्याक्ट्रीका कति जना कर्मचारी वा मजदुर छन् भन्ने स्पष्ट छैन । पक्राउ परेका केही व्यक्तिहरुको तस्वीर पनि सार्वजनिक भएका छन् ।

टिएलपीलाई घटनाको जिम्मेवार मानिएको छ किनकि भिडियोमा देखिएका मानिसहरुले टिएलपीको नारा लगाएका थिए र आफूलाई लब्बैकको कर्यकर्ता बताएका थिए । आइतबार पहिलो पटक टिएलपीले यसबारे बयान दिएको छ । टिएलपीले भनेको छ ‘हामीलाई यो घटनाप्रति दुःख छ तर हामीलाई यससँग जोड्नु गलत हो । घटनामा संलग्नले जस्ता नारा लगाएका थिए त्यस्ता नारा हरेक मुस्लिमले लगाउँछन् ।’

टिएलपीले अगाडि भनेको छ ‘पाकिस्तानको संविधानले हरेकलाई आफ्नो धर्म मान्न पाउने ग्यारेन्टी दिन्छ त्यो हिन्दु होस् वा क्रिस्चियन । यो घटनाको गम्भीरताका साथ जाँच गर्नुपर्छ र बिना कुनै प्रमाण कसैलाई निशाना बनाइनु हुँदैन ।

पाकिस्तानकी बरिष्ठ पत्रकार आलिया शाहले आफ्नो युट्युब च्यानलमा भनेकी छिन् ‘मेरो जानकारी अनुसार फ्याक्ट्रीमा जाँचका लागि केही अधिकारी आउँदै थिए । त्यसअघि प्रियंथाले त्यहाँ सफाइ गराउने योजना बनाए । त्यहाँ टाँसिएका केही स्टिकर र पोस्टर पनि हटाइए । यस क्रममा प्रियंथाले एउटा स्टिकर निकालेर डस्टबिनमा हालिदिए । यो कुरा त्यहाँ भएका २ जनाले बाहिर निस्किएर अरुलाई बताए । त्यसपछि यो घटना भयो ।’ अर्का एक पत्रकार मुबाहिर लुकमानले पनि घटनाको करिब–करिब यस्तै पृष्ठभूमि बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *