२३ वर्षको उमेरमा कांग्रेस महाधिवेशन प्रतिनिधि बने राकेश

डिसी नेपाल
२० मंसिर २०७८ २२:११

खोटाङ । पार्टीको महत्त्वपूर्ण पदमा पुग्नका लागि कपाल फुलाउने कैयौं नेता तथा कार्यकर्ता छन् । विभिन्न पार्टीभित्र हुने पदको दौडमा कतिपय सफल हुन्छन् त कतिपय असफल । कतिपय चाहेको पदमा नपुग्दै राजनीतिबाट किनारा लाग्न पुग्छन् । नेतृत्वमा पुग्ने दौडमा खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका २३ वर्षीय राकेश परियारले भने आफूभन्दा ‘सिनियर’लाई पछि पारेका छन् ।

युवा उमेरमै परियार नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएका छन् । नेता मान्दै आएका दा(दाइहरु)लाई उनले उछिनेका छन् । प्रतिस्पर्धाका क्रममा उनलाई राजनीतिमा डोर्‍याउने नेता नै पछि परेका छन् ।

कांग्रेस खोटाङको सातौं जिल्ला अधिवेशनमा परियारले ५९६ मत ल्याउँदा उनका प्रतिष्पर्धीले ३६१ मत पाएका थिए ।

खोटाङबाट कांग्रेसका २५ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । त्यसमध्येका कान्छो प्रतिनिधि बनेका छन्, राकेश । क्रियाशील सदस्यता लिएको दशकौंसम्म पनि महाधिवेशन प्रतनिधि हुने कतिपयको सपना पूरा हुन सकेको छैन । तर, राकेशले पार्टीको क्रियाशील सदस्यता लिएकै वर्ष महाधिवेशन प्रतनिधिमा फड्को मारेका हुन् ।

स्थानीय तहको निर्वाचनअघि उनी तरुण दलको हलेसी तुवाचुङ नगर समितिका सह–सचिव बनेर औपचारिक रुपमा राजनीतिमा प्रवेश गरेका थिए । त्यसपछि कांग्रेस निकट दलित संघको जिल्ला सदस्य, नेविसंघका जिल्ला सदस्य र वर्ष दिनअघि तरुण दल दलित तथा विपन्नको केन्द्रिय सदस्य बनेका थिए ।

‘पार्टीमा लामो समयदेखि खट्दै आएको थिएँ । ५ वर्षअघि तरुण दलको नगर समितिमा संगठित भएर राजनीतिमा औपचारिक प्रवेश गरेको हुँ,’ परियारले भने, ‘पार्टी राजनीतिका माध्यमबाट सिंगो दलित समुदायको उन्नतीका लागि पसिना बगाउने सोचमा छु ।’

जिम्मेवारीका हिसावले उनी कतिपय अग्रज नेताभन्दा माथि उक्लेका छन् । आफूले नेता मान्दै आएका अग्रजभन्दा अगाडिको वरियतामा उपस्थिति जनाउनुपर्ने अवस्थामा उनलाई अप्ठ्यारो लाग्छ । कार्याकर्ता मान्दै आएका राकेशलाई आफूभन्दा माथिल्लो वरियतामा देख्दा कतिपय अग्रजलाई पनि अप्ठ्यारो परेको देख्न सकिन्छ ।

यस्तै, २१ वर्षीया अनुष्का बस्नेत कांग्रेसको जिल्ला सदस्यमा निर्वाचित भएकी छन् । सदस्य खस आर्य महिलातर्फ ६०१ मत ल्याएर बस्नेत जिल्ला सदस्य चुनिएकी हुन् ।

यस्तै, २४ वर्षीया गोमा राई पनि केपिलासगढी गाउँपालिकाको महिलातर्फबाट जिल्ला सदस्यमा निर्वाचित भएकी छन् । गोमाले ५२९ मत ल्याएर जिल्ला सदस्य चुनिएकी हुन् । बस्नेत ७ पुस २०५७ र राई ७ कात्तिक २०५४ मा जन्मिएकी हुन् ।

यतिबेला कांग्रेस, एमाले र माओवादी केन्द्र अधिवेशनमा केन्द्रि हुँदा युवाहरुको राजनीतिमा बलियो उपस्थिति देखिएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *