‘प्राक्टिकल परीक्षा’को बहानामा नशालु पदार्थ खुवाएर १० कक्षाका १७ छात्राको स्कुलमै यौनशोषण

डिसी नेपाल
२१ मंसिर २०७८ १५:०३

काठमाडौं। प्रयोगात्मक परीक्षाको बहानामा १७ जना छात्राहरुको स्कुलभित्रै यौन शोषण गरेको अभियोगमा मुद्दा दर्ता गरिएको छ । निजी स्कुलका यी छात्राहरुलाई प्रयोगात्मक परीक्षाको नाममा आफ्नो स्कुलबाट अर्को स्कुलमा लगिएको थियो । उत्तर प्रदेशको मुजफफरनगरमा भएको यो घटनामा दुई जना अभियुक्तविरुद्ध मुद्दा दर्ता गरिएको छ । द इण्डियन एक्सप्रेसका अनुसार २ अभियुक्तमध्ये १ जना छात्राहरुले पढ्ने स्कुलका प्रबन्धक हुन् र अर्का छात्राहरुलाई लगिएको स्कुलका प्रबन्धक हुन् ।

यो घटना भएको १५ दिनभन्दा धेरै भइसकेको छ र दुवै अभियुक्तलाई गिरफ्तार गर्न अझै बाँकी छ । १७ नोभेम्बरको रातमा यी छात्राहरुलाई खानामा नशालु पदार्थ मिसाएर खुवाएर उनीहरुको शोषण गरिएको थियो । यी छात्राहरुका परिवारले हालै पुरकाजीका बीजेपी विधायक प्रमोद अटवालसँग सम्पर्क गरेपछि घटना प्रकाशमा आएको हो । यो स्कुल जुन पुलिस थाना अन्तर्गत आउँछ त्यहाँका इन्चार्जलाई हटाइएको छ ।

जिल्ला शिक्षा कार्यालयका अधिकारीहरुले घटनाको पुष्टि गरेका छन् । सूत्रको हवाला दिँदै अखबारले लेखेअनुसार दुवै आरोपीले अपराध गर्न पाउनुको कारण यी छात्राहरुका परिवार निकै गरिब छन् र उनीहरुलाई परीक्षाको नाममा लिएर गएपछि परिवारले कुनै प्रश्न उठाएनन् । एफआइआरमा उल्लेख भएअनुसार नशालु पदार्थ खुवाइएपछि सबै छात्राहरु भोलिपल्ट मात्र घर फर्किएका थिए । उनीहरुलाई कसैलाई यसबारे बताए परिवारलाई मारिदिने धम्की दिइएको थियो ।

विधायकका अटवालका अनुसार पीडित परिवारले उनीसँग सम्पर्क गरेपछि उनले एसएसपी अभिषेक यादवसँग कुरा गरे र त्यसपछि जाँच सुरु गरियो । एसएसपी यादवका अनुसार सम्बन्धित पुलिस थानाका इन्चार्जविरुद्ध विभागीय जाँच सुरु गरिएको छ । आरोपीहरुको पनि छिटै गिरफ्तारी हुनेछ । एफआइआरका अनुसार १७ नोभेम्बरमा १० कक्षाका सबै छात्राका परिवारलाई सम्पर्क गरेर प्रयोगात्मक परीक्षाको लागि उनीहरुलाई अर्को स्कुल लगिने बताइएको थियो तर त्यही कक्षाका कुनै पनि छात्रलाई यस्तो केही भनिएको थिएन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *