प्रदेश २ प्रदेश सभा बैठकमा मुख्यमन्त्रीको राजीनामा माग

डिसी नेपाल
२९ मंसिर २०७८ १८:४८

जनकपुरधाम । प्रदेश २ को प्रदेश सभा बैठक पुस ८ गते सम्मका लागि स्थगित भएको छ।

करिब तीन महिनापछि आह्वान गरिएको प्रदेश सभाको ८ औं अधिवेशनको पहिलो बैठक बुधवार बसेको थियो । आजको बैठकमा प्रदेश सरकारले अध्यादेश मार्फत् ल्याएको २ वटा विश्वविद्यालय सम्बन्धी विधेयक समाजिक विकासमन्त्री नवल किशोर साहले प्रदेश सभामा पेस गरेका थिए ।

सुरुमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले अवरोध गरेपछि सभामुख सरोज कुमार यादवले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । यसैबीच, बैठकमा मुख्यमन्त्री राउतले ८ औं अधिवेशनमा प्रदेश २ को नाम र राजधानी टुङ्गो लगाउने प्रतिवद्धता जनाएका छन् ।

‘विगतमा प्रदेशको नाम र राजधानीको नामाकरणको प्रयास गरेको थिए’, मुख्यमन्त्री राउतले भने, ‘तर त्यो सफल हुन सकेन । यो ८ औं अधिवेशनमा नाम र राजधानी नामाकरणमा सरकारको तर्फबाट टुंङ्गो ल्याउने प्रयास हुन्छ ।’

सरकारको कमीमजोरी तथा ढिला सुस्तीका कारण प्रदेशले अहिलेसम्म नाम र राजधानी पाउन नसकेको मुख्यमन्त्री राउतले स्वीकार गरे ।

यसैबीच, प्रमुख प्रतिपक्षी दल लोसपाका संसदीय दलका नेता तथा पूर्व मन्त्री जितेन्द्र सोनलले सरकारले अध्यादेश मार्फत् दुई कानुन ल्याएर लोकतन्त्रको उपहास गरेको आरोप लगाए । सरकारले संसद सुचारु गराउनुको साटो चोरबाटोबाट अध्यादेश ल्याएर लोकतान्त्रिक मूल्य मान्यता विपरित काम गरेको उनको आरोप थियो ।

साईकल खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धानले प्राराम्भिक चरणमा अनियमितता देखिएकोले मुख्यमन्त्री राउतले राजीनामा दिनु पर्ने उनले माग गरे ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *