साउदी राजकुमारले हिजो उद्घाटन गरेको २० अर्ब डलरको महत्वाकांक्षी ‘जेद्दा प्रोजेक्ट’ के हो ?

डिसी नेपाल
३ पुष २०७८ १३:५४

काठमाडौं। साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमानले शुक्रबार ७५ अर्ब रियाल (करिब २० अर्ब डलर) लगानीमा बन्ने ‘मास्टर डेभलपमेन्ट डाउनटाउन जेद्दा प्रोजेक्ट’को उद्घाटन गरेका छन् । यसलाई ‘न्यू जेद्दा डाउनटाउन’को नामले पनि चिनिँदै आएको छ । यो परियोजनालाई ५०.७ लाख वर्ग मिटर क्षेत्रमा विकसित गरिनेछ ।

यो परियोजनालाई केन्द्रीय जेद्दा विकासको सार्वजनिक लगानी कोषबाट तीन चरणमा तयार गरिनेछ । यसमध्ये पहिलो चरण २०२७ को अन्त्यसम्म पूरा गरिनेछ । त्यसपछि देश तथा विदेशका मानिसहरु डाउनटाउन जेद्दा आउन सक्नेछन् । साउदी प्रेस एजेन्सीका अनुसार यसलाई सार्वजनिक लगानी कोष र देश विदेशका लगानीकर्ताको कोषबाट तयार गरिनेछ ।

यसलाई बनाउने कम्पनीले अहिले योजना अनुसार सबै चरणको कार्यान्वयन सुनिश्चित गर्नको लागि सबै सम्बन्धित जानकारीको साथमा काम गरिरहेको छ । ‘डाउनटाउन जेद्दा’ परियोजनाको लक्ष्य २०३० सम्म साउदीको अर्थव्यवस्थामा ४७ अर्ब रियाल थप्नु हो । यो परियोजनामा एक ओपेरा हाउस, एक संग्रहालय, एक खेल स्टेडियम, महासागर घाटीहरु र कोरल फर्म हुनेछन् । यसका अलावा यसमा १० मनोरञ्जन र पर्यटन परियोजनाहरु पनि हुनेछन् ।

परियोजनामा एक विश्वस्तरीय मरिना र बीच रिसोर्ट पनि हुनेछ । यसका अलावा यहाँ स्थानीय र अन्तर्राष्ट्रिय लग्जरी होटलहरु, रेष्टुरेण्ट र क्याफे हुनेछन् । मानिसहरुका लागि किनमेलका विभिन्न किसिमका विकल्प हुनेछन् । परियोजनाको परिचालनबाट स्थानीय निजी क्षेत्रका कम्पनीहरुले अन्तर्राष्ट्रिय मानकहरुको साथमा पर्यटन, खेल, सांस्कृतिक र मनोरञ्जन जस्ता आर्थिक क्षेत्रको विकास तथा संचालनमा भाग लिने अवसर पाउनेछन् ।

५०० भन्दा धेरै इन्जिनियर र सल्लाहकारहरुले मास्टर प्लानको डिजाइन तैयार गरेका हुन् । डाउनटाउन जेद्दा परियोजनामा कैयौं प्राकृतिक विशेषताहरु छन् । यसमा ९.५ किलोमिटर लम्बाइको वाटरफ्रन्ट हुनेछ । यसमा मरिना हुनेछ जहाँ देशभित्र र बाहिरबाट याट आउन सक्नेछन् । यसका अलावा २.१ किलोमिटर लामो बालुवाको समुद्र किनार हुनेछ । परियोजनाको ४० प्रतिशत भाग हरियाली, खुला स्थान र सार्वजनिक सेवाहरुको लागि हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *