पोखराबाट न्यानो कपडा बोकेर हुम्ला

डिसी नेपाल
९ पुष २०७८ १६:२२
36
Shares

काठमाडौं। भौगोलिक विकटता साथै आर्थिक अवस्था निकै कमजोर रहेको कर्णाली प्रदेशका हुम्ला सिमिकोट गाउँपालिका–७ का डाँडा फया गाउँका विपन्न परिवारलाई अस्ट्रियाको फ्रिज्जी लाइट संस्थाको आर्थिक सहयोग र पोखरास्थित लामा राइजेन ट्रेक्स एण्ड एक्सपीडिसन प्रालिको संयोजनमा न्यानो कपडा वितरण गरिएको छ ।

ठकुरी, क्षेत्री र दलित जातिको बाहुल्यता रहेको उक्त गाउँमा २५० घरधुरी रहेको स्थानीय संयोजनकर्ता समाजसेवी जङ्गसुर शाहीले जानकारी दिए । विपन्न एकल महिला, ज्येष्ठ नागरिक, अपाङ्गता तथा दलित समुदायलाई हिउँदको कठ्याङ्ग्रिने जाडोमा न्यानो मायासहित न्यानो कपडा लिएर कर्णालीको हुम्ला आइपुगेको फ्रिज्जी लाइट संस्थाका नेपाल प्रतिनिधि छिरिङ लामा शेर्पाले बताए।

उनका अनुसार ५० जनालाई न्यानो ज्याकेट र स्लिपिङ ब्याग तथा ५० जना विद्यार्थीलाई ज्याकेट, ट्राउजर तथा स्कुल ब्याग वितरण गरिएको छ । मानवीय र सामाजिक कार्यका लागि विकट बस्ती पुग्दै र विपन्न समुदायको पहिचान गरी सहयोग गर्दै आइरहेको संस्थाले जाडोको मौसम सुरु भएपछि हुम्ला सिमिकोट आइपुगेको उनको भनाइ छ । संस्थाले यस वर्षमात्रै नेपालका ३० जिल्लामा यस्तो कार्यक्रम गरेको शेर्पाले बताए ।

न्यानो कपडा वितरण कार्यक्रममा सिमिकोट गाउँपालिका–७ का कार्यवाहक वडाध्यक्ष कृष्णबहादुर शाही भौगोलिक विकटता र गरिबीले जाडो छल्न मुस्किल परेका समुदायलाई सम्झेर न्यानोमायासहित न्यानो कपडा बोकेर हुम्ला आएकामा धन्यवाद व्यक्त गरे । उनले मानवीय सेवा नै धर्म भएकाले नहुनेलाई सहयोग गरेर एकअर्काप्रति सकारात्मक भावको विकास गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा कैलाश माविका प्रधानाध्यापक बलबहादुर शाही, सञ्चारकर्मी ओबिराज शाही, पोखरा बर्डस सोसाइटिका मन शान्त घिमिरे र नेपाल पर्वतारोहण सङ्घ (एनएमए)का अध्यक्ष शेषकान्त शर्माको उपस्थितिमा न्यानो कपडा वितरण गरिएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *