कुनै पनि बहानामा प्रेसमाथि अङ्कुश लगाउन हुँदैन्ः मुख्यमन्त्री पोखरेल

डिसी नेपाल
११ पुष २०७८ २०:२८

काठमाडौं ।गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कुनै पनि बहानामा प्रेसमाथि अङ्कुश लगाउन नहुने बताएका छन् । बेँसीशहर नगरपालिका–३ मिलन टोलमा आज नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको चार तले भवनको शिलान्यास गर्दै उनले पत्रकारिता र लोकतन्त्र एकअर्काका अभिन्न अङ्ग भएको उल्लेख गरे ।

मुख्यमन्त्री पोखरेलले लोकतन्त्रविना पत्रकारिताको अर्थ नहुने बताए । प्रतिपक्ष र पत्रकार सक्रिया भए मात्र लोकतन्त्र फस्टाउने उनको भनाइ थियो । मुख्यमन्त्री पोखरेलले नेपालमा संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको भन्दै उनले कुनै पनि बाहानामा अङ्कुस लगाउन नहुनेमा जोड दिए । प्रदेश सरकार पत्रकारको सुझावको सम्मान गर्दै अघि बढ्ने उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशको आगामी अधिवेशनमा प्रेस ऐन, सूचनाको हकलगायत ऐन ल्याउने तयारीमा रहेको सो अवसरमा जानकारी दिए ।

“प्रदेश सरकार पत्रकारको साथमा रहेको सन्देश दिनका लागि ६ जिल्लालाई रु १०/१० लाख सहयोग गरेका छौँ”, उनले भने । सङ्घीयताको मर्म केन्द्र सरकारले बुझ्न नसकेको उनले आरोप लगाए । “स्थानीयदेखि प्रदेश सरकार केन्द्रले नै चलाएको छ”, उनको आरोप छ । सङ्घीयता कार्यान्वयन हुन नसक्दा सिंहदरबारतर्फ नै फर्किनुपर्ने अवस्था रहेको मुख्यमन्त्री पोखरेलको भनाइ छ । कार्यक्रममा गण्डकी प्रदेशका विना विभागिय मन्त्री दोबाटे विकले प्रेस विधेयक प्रेसमैत्री बनाइने बताए ।

नेपाल पत्रकार महासङ्घका केन्द्रिय अध्यक्ष विपुल पोखरेलले प्रेस स्वतन्त्रताविना नागरिकका अन्य स्वतन्त्रा पनि खोसिने भएकाले योविना नागरिकले अन्य स्वतन्त्रता उपभोग गर्न नसक्ने बताए । “स्वतन्त्रताको आभास गर्न पनि प्रेस स्वतन्त्रता अनिवार्य रहन्छ । प्रेस स्वतन्त्रता पत्रकारको लेख्ने मात्र नभइ, नागरिकलाई अभिव्यक्त गर्न प्रेरित गर्ने स्वतन्त्रता पनि हो”, उनले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *