घरेलु तथा साना उद्योगमा महिलालाई प्रोत्साहित गर्नुपर्छः मुख्यमन्त्री राउत

डिसी नेपाल
१४ पुष २०७८ १९:२५

काठमाडौं। प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले घरेलु तथा साना उद्योगमा महिलालाई प्रोत्साहित गर्नुपर्ने बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग प्रदेश नं २ को दोस्रो अधिवेशन एवं महिला उद्यमी सम्मेलनको आज जनकपुरमा उद्घाटन गर्दै मुख्यमन्त्री राउतले घरेलु तथा साना उद्योगमा महिलाको सहभागिता र सक्रियता बढाउन सकिए प्रदेशको आर्थिक विकासले गति लिने भएकाले घरेलु तथा साना उद्योगतर्फ महिलालाई प्रोत्साहित गर्नुपर्ने बताए ।

पछिल्लो समय घरेलु तथा साना उद्योगमा महिलाको सहभागिता बढ्दै गएकोप्रति खुशी व्यक्त गर्दै उनले साना उद्योगमा महिलाको सहभागिता र सक्रियता बढाउन प्रदेश सरकारले ठोस योजना बनाउन लागेकोसमेत बताए । प्रदेश नं २ मा उद्योगधन्दा सञ्चालन गर्ने प्रचुर सम्भावना भए पनि विभिन्न कारणले अपेक्षाकृत कार्य गर्न नसकिएको उल्लेख गर्दै प्रदेश सरकारले छिट्टै औद्योगिक विकासका लागि ठोस योजना ल्याउने मुख्यमन्त्री राउतले प्रतिबद्धता व्यक्त गरे ।

नेपालको आर्थिक विकास कृषिजन्य उद्योगले ठूलो योजना पुर्‍याएको चर्चा गर्दै उनले प्रदेश सरकारले कृषिउपज र अन्य घरेलु तथा साना उद्योगको उत्पादनलाई बजारसम्म पुर्‍याउनका आवश्यक रणनीति बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे । उद्योग महासङ्घ प्रदेश २ का अध्यक्ष सत्यनारायण अग्रवालको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा महासङ्घका केन्द्रीय अध्यक्ष श्यामप्रसाद गिरीले बङ्गला देशसँग समन्वय गरेर वीरगञ्जमा गार्मेन्ट उद्योग स्थापना गर्नुपर्ने र महिलालाई सहुलियत दरमा ऋण उपलब्ध गराउनका लागि प्रदेश सरकार अग्रसर हुनुपर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *