बयलवास घटनाका पीडित र स्थानीय प्रशासनबीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता

डिसी नेपाल
१४ पुष २०७८ २१:४२

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलवासमा प्रहरी भ्यानको ठक्करबाट एक स्थानीयको मृत्युको विषयमा दुई पक्षबीच सहमति भएको छ ।

बुधबार दिनभरको प्रयासपछि अबेर पीडितपक्ष सहमतिमा आएको हो । छलफलबाट दुई पक्षबीच ६ बुँदे सहमति भएको जिल्ला प्रशासन कार्यलयले जनाएको छ । सहमति सगैँ तीन दिन देखि लगातार तनावको स्थिति साम्य भएको छ । लालबन्दी नगरपालिकास्थित ईलाका प्रहरी कार्यलय प्रांगणमा पीडित परिवार, स्थानीय विभिन्न राजनीतिक दलका प्रतिनिधि र जिल्लाका तीनवटै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिको उपस्थितिमा बिहानै देखि छलफल भएको थियो ।

छलफलबाट घटनाको निष्पिक्ष छानबिन गरी दोसीलाई कारबाहीका लागि प्रदेश प्रहरीमा सिफारिस गर्ने, मृतकप्रति आश्रित परिवारका सदस्यको लागि रोजगारी श्रृजना गर्ने तथा बालिकाहरुको शिक्षा लागि स्थानीय तह, उद्योग बाणिज्य संघ र चेम्बर अफ कर्मस लगायत संघ संस्थासगँ पहल गर्ने, प्रहरी र प्रदर्शनकारीबीच भएको झडपको क्रममा भएको क्षतीको पूर्ण विवरण संकलन गर्ने र घाइतेको उपचार तथा सम्पतिको क्षतीपूर्तीको लागि प्रचलित कानुन बमोजिम केन्द्रमा सिफरिस गर्ने सहमति भएको छ ।

यस्तै सोही छलफलबाट मृतकका परिवारलाई राहत स्वरुप १० लाख उपलब्ध गराउन केन्द्रमा सिफरिस गर्ने, घटनाको बिषयमा भएका सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिने, स्थानीय, राजनीतिक दल, संघ संस्था, उद्योग ब्यवसायी, नागरिक समाजको पहलमा शान्तिसुरक्षा कायम गर्न पहल गर्ने र मृतका परिवारले शव बुझ्ने सहमति भएको हो । प्रतिनिधि सभा सांसद प्रमोद साह, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, एसपी कृष्ण प्रसाई, सशस्त्र प्रहरीका प्रमुख भरत खनिया, उद्योगबाणिज्य संघका अध्यक्ष मनोज कुमार साह लगाएतको पहलमा छलफल भएको थियो ।

गत आइतवार राति ईश्वरपुर नगरपालिका–७, बयलवासमा ईलाका प्रहरी कार्यालय केशरगञ्जको गस्तीमा रहेको भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका–५ निवासी ३० वर्षीय रामकुमार महतोको मृत्यु भएको थियो । सोही स्थानमा ब्यापार गर्ने ब्यवसायी महतोको मृत्युको शंकास्पद भएको र घटना प्रहरीले लुकाउन खोजेको भन्दै सोमबार बिहानबाट पीडित परिवार र बयलवास क्षेत्रका व्यापारीले बजारमा टायर बालेर विरोधमा उत्रिएका थिए ।

त्यस पछि घटना साम्य हुनुको साटो उग्र बन्दै गएपछि स्थिती नियन्त्रण बाहिर गएको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा घोषण गरेको थियो । आक्रोसित स्थानीय र ब्यापारीको समूहले ईलाका प्रहरी कार्यलय केसरगंज घेराउ र ढुंगामुडा गरेपछि थप मद्तका लागि गएको हरिपुर प्रहरीको भ्यानमा आगो लगाइदिएका थिए । आगलागीबाट भ्यानमा पूर्णरुपमा क्षती पुगेको छ । त्यसपछि प्रहरीले बल प्रयोग गरेको भन्दै आक्रोसित स्थानीय र प्रहरीबीच मंगलवार दिनभर दर्जनौ पटक झडप भएको थियो ।

झडपको क्रममा जिल्ला प्रहरीका डीएसपी माधव प्रसाद बुडाथोकी, प्रहरी निरिक्षक कृष्ण गिरी सहित दर्जनौ सुरक्षाकर्मी र सोही संख्यामा आन्दोलीत स्थानीय घाइते भएका थिए । स्थानीयका अनुसार एक जनाको यूवकको खुट्टामा गोली समेत लागेको छ । तर, प्रहरीले गोली नचलाएको दाबी गरेको छ । स्थिती नियन्त्रणमा लिन प्रहरीले दर्जनौ राउण्ड अश्रुग्यास छोडेको जनाएको थियो । घटना नियन्त्रण बाहिर गएको भन्दै जिल्ला प्रशासन कार्यलयले मंगलवार दिउसो ३ बजेबाट बुधवार साझ ७ बजेसम्मको लागि निषेधाज्ञा घोषणा गरेको थियो ।

प्रहरीले भने रामकुमारले चलाएको मोटरसाइकल प्रहरी भ्यानमा आफैं आएर ठोक्किएको दाबी गरेको छ । दुर्घटनामा परी गम्भिर घाईते भएका महतोलाई उपचारका लागि तत्काल सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालमा पुर्याइए पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक महतोको शव पोष्टमार्टम पश्चात् जिल्ला अस्पताल मलंगवामै राखिएको छ । माग पूरा नभएसम्म शव नबुझ्ने पीडित परिवारले बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *