हिउँ हटाएपछि बैतडीको राजमार्ग सञ्चालनमा

डिसी नेपाल
१५ पुष २०७८ १६:३५

काठमाडौं। हिमपातका कारण मङ्गलबार साँझदेखि अवरुद्ध भएको दशरथचन्द र जयपृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । मङ्गलबार साँझदेखि लगातारको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध हुँदा यातायात सेवा पूर्णरूपमा ठप्प भएको थियो भने सयौँ यात्रु अलपत्रमा परेका थिए ।

नेपाली सेनाले बैतडीस्थित दशरथचन्द राजमार्गमा जमेको हिउँ हटाएको छ । हनुमानध्वज गुल्मका उपसेनानी बालाराम बुढाथोकीे नेतृत्वको टोलीले राजमार्गअन्तर्गत देहिमाडौँ, कठपते, सतबाँझलगायतका क्षेत्रको हिउँ हटाएको हो । मङ्गलबार साँझदेखि परेको बाक्लो हिमपातले राजमार्ग अवरुद्ध र जनजीवन प्रभावित हुन थालेकाले सडकको हिउँ हटाइएको हनुमानध्वज गुल्मका गुल्मपति, सेनानी खिलबहादुर रानाले जानकारी दिए । यसका साथै कठपतेमा रहेको टेलिकमको टावर आसपास क्षेत्रको हिउँ पनि हटाइएको जनाइएको छ ।

उनले भने, “सवारी दुर्घटना हुनसक्ने, विद्युत् सेवा, इन्टरनेट, सञ्चार सेवा तत्काल सुचारु गर्न हिउँ हटाएका हौं ।” आपतविपत्मा नेपाली सेना सधैँ साथमा रहेको सन्देश दिन हामीले पछिल्लो समय सामाजिक कार्य र विपतमा परेकाको उद्धारलगायतका काम गरिरहेका उनको भनाइ छ । यस्तै भारी हिमपातका कारण अवरुद्ध बनेको दशरथचन्द र जयपृथ्वी राजमार्ग सुचारु भएको छ । खोडपे, अनारखोली, ढोल्यामोडलगायतका क्षेत्रमा जमेको हिउँका कारण बुधबार बिहानैदेखि अवरुद्ध बनेका राजमार्ग दिउँसोपछि सुचारु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्का बताए ।

यसैबीच वर्षासँगै हिमपात भएपछि किसान खुसी भएका छन् । यो वर्ष समयमै हिउँ परेकाले गहुँलगायतका हिउँदेबाली सप्रिने भन्दै किसान खुसी भएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *