पाकिस्तानमा प्रधानन्यायाधीशले गरेको कानुनी फैसलाले बबाल, सर्वोच्च अदालतलाई नै धम्की !

डिसी नेपाल
१६ पुष २०७८ १३:४३

काठमाडौं। पाकिस्तानको सर्वोच्च अदालतले यही हप्ता मंगलबार कराचीको तारिक रोडमा रहेको पार्कको जमिनमा भनेको मदीना मस्जिदलाई भत्काउन आदेश दिएको थियो । सर्वोच्च अदालतले एक हप्ताभित्र पर्कको जमिन खाली गराउन आदेश दिएको थियो । सर्वोच्च अदालतमा यो मुद्दाको सुनुवाइ प्रधानन्यायाधीश गुलजार अहमदको अध्यक्षतामा गठित बेन्चले गरेको थियो ।

अदालतमा सुनुवाइको क्रममा कराचीका प्रशासक मुर्तजा वहाब र सहरका कमिश्नर पेश भएका थिए । प्रधानन्यायाधीश गुलजार अहमदले सुनुवाइको क्रममा मुर्तजा वहाबसँग ‘पार्कको जमिनमा अवैध निर्माण कसरी भयो ?’ भनेर सोधेका थिए । जियो टिभीको रिपोर्टअनुसार मुर्तजाले जवाफमा भनेका थिए ‘यदि अदालतले कुनै आदेश दिन्छ भने म त्यसको पालना गर्नेछु ।’

प्रधानन्यायाधीश गुलजारले निराशा व्यक्त गर्दै भनेका थिए ‘तपाइँहरुको शैलीबाट म आश्चर्यमा परेको छु । यो तपाइँको काम हो र तपाइँ अदालतको फैसलाको प्रतिक्षा गरिरहनुभएको छ । यो आवासीय क्षेत्र हो । के तपाइँ कार्यालय यसकारण जानुहुन्छ कि त्यहाँ बस्नुपर्छ, चिया पिउनुपर्छ र गफ गरेपछि घर आउनुपर्छ ?’

‘तपाइँले यो सहरको लागि के गर्नुभएको छ ? यो सहरलाई भारी नोक्सानी भएको छ र यसलाई ठिक गर्नको लागि तोडफोडको आवश्यकता छ । जहाँ ४ जनाको लागि घर छ त्यहाँ ४० परिवार बसिरहेका छन् । २०० गजको जमिनमा ८ तले भवन ठड्याइएका छन् । यही हाल नजीमाबादमा पनि छ । यो सहरलाई जर्मनी, जापान र पोल्याण्डमाजस्तै फेरि बनाउनुपर्ने आवश्यकता छ ।’

मदीना मस्जिद भत्काउने आदेशपछि पाकिस्तानका इस्लामिक नेता भड्किएका छन् । जमियत उलेमा ए इस्लाम फज्ल (जेयुआइ एफ) सिंधका महासचिव राशीद महमुद सुमरोले बुधबार प्रधानन्यायाधीश गुलजार अहमद र मुख्यमन्त्री सैयद मुराद अलीलाई मस्जिद भत्काएर देखाउन चुनौती दिएका छन् । मंगलबार सर्वोच्च अदालतले मदीना मस्जिदका साथै मजार र कब्रिस्तान लाई पनि हटाउन आदेश दिएको छ । कराचीको जिल्ला निगम प्रशासकका अनुसार मस्जिद पार्कको जमिनमा बनेको छ ।

पाकिस्तानको अंग्रेजी अखबार एक्सप्रेस ट्रिब्युनका अनुसार मस्जिद प्रशासन परिषदका वकिल ख्वाजा शम्सले भनेका छन् कि जमिन कराची महानगरीय निगमसँग लिलामीको माध्यमबाट लिइएको थियो । यद्यपि उनले यो पनि दावी गरे कि यसको स्थानमा एक नयाँ मस्जिद बनाइँदैछ । सर्वोच्च अदालतको फैसलासँग असन्तुष्टि जनाउँदै जेयुआइ एफ का नेता राशीद महमुद सुमरोले चुनौती दिँदै भनेका छन् ‘यदि हिम्मत छ भने मस्जिद भत्काएर देखाउनुस् ।’

बुधबार राशीद महमुदले प्रधानमन्त्री इमरान खान र प्रधानन्यायाधीशलाई सम्बोधित गर्दै भने ‘वजीर ए आजम (प्रधानमन्त्री) साहब मस्जिद लावारिस छैन । चीफ जस्टिस साहब मस्जिद लावारिस छैन । के यसलाई नै मदिनाको रियासत भनिन्छ ? मन्दिर त सुरक्षित छन् तर मस्जिदलाई भत्काउने आदेश सर्वोच्च अदालतले दिन्छ । म आज चुनौती दिन्छु कि कराचीमा कसैमा हिम्मत छैन कि उसले कुनै मस्जिदलाई हात लगाएर देखाओस् । जबसम्म हामी जिउँदै छौं कुनै पनि मस्जिदको एउटा इँटा पनि खस्न दिँदैनौं ।’

राशीद महमुदले आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै भने ‘मस्जिदसम्म पुग्नको लागि जमियतका मानिसहरुको टाउकोबाट गुज्रिनुपर्छ । हामी मस्जिदको चोकीदारी गर्नेछौं । यदि मस्जिद सुरक्षित रहेनन् भने तिमीहरुका पद पनि सुरक्षित रहने छैनन् । तिमीहरुका कार्यालय पनि सुरक्षित रहने छैनन् । यदि तिमीहरुभित्र दम छ भने आऊ मस्जिदलाई भत्काएर देखाऊ, हेर्छौं तिमीहरु कसरी मस्जिद भत्काउँछौ ।’

‘चीफ जस्टिस साहब पहिले पाकिस्तानको जमिनमा बनेका पेट्रोल पम्प, स्कुल र छाउनीहरुलाई भत्काउने आदेश दिनुस् त्यसपछि मस्जिदहरुतिर आउनुस् । मस्जिद लावारिस छैनन् । तारिक रोड होस्, मदीना मस्जिद होस्, इंशाअल्लाह जमियतले यसको चौकीदारी गर्नेछ । हामी जालिमसँग विद्रोह गर्नेछौं ।’

अवैध जमिनमा मस्जिदको अनुमति कसरी ?

प्रधानन्यायाधीश गुलजार अहमदको अध्यक्षमा बसेको बेन्चमा न्यायाधीश काजी मोहम्मद अमिन पनि थिए । सुनुवाइको क्रममा न्यायाधीश अमिनले भनेका थिए कि कुनै पनि प्रार्थनाघर अवैध जमिनमा हुन सक्दैन । न्यायाधीश अमिनले जोड दिएर भनेका थिए ‘इस्लाममा अवैध जमिनमा मस्जिद बनाउने अनुमति छैन ।’ उनले कराची महानगरीय निगमसँग पनि पार्कको जमिनमा मस्जिद बनाउने लाइसेन्स दिने अधिकार नभएको पनि बताएका थिए ।

सर्वोच्च अदालतले अल फतह मस्जिदको तर्फबाट मस्जिद भत्काउने आदेशको समीक्षा गर्नको लागि गरिएको आग्रह पनि अस्वीकार गरेको छ । मदीना मस्जिद भत्काउने फैसलाबारे पाकिस्तानीहरुले सामाजिक संजालमा धेरै प्रतिक्रिया दिइरहेका छन् । पाकिस्तानमा ट्वीटरमा ह्याशट्याग सेभमदीनामस्जिद ट्रेण्ड गरिरहेको छ । धेरैजसो मानिसहरु मदीना मस्जिदको फोटो पोस्ट गर्दै ‘हामी इस्लामको रक्षाको लागि तयार छौं’ लेखिरहेका छन् । ट्वीटरमा जेयुआइ एफका नेता राशीद महमुदको भिडियो क्लिप पनि शेयर भइरहेको छ जसमा उनले सर्वेच्च अदालतलाई धम्की दिइरहेका छन् ।

मस्जिदको विषय पाकिस्तानको संसदमा पनि उठ्यो । जमियत उलेमा ए इस्लामका नेता मुफ्ती असह महमुदले संसदमा बुधबार भने ‘यो कस्तो देश हो जहाँ इमरान खानको घरलाई वैध ठहर गरिन्छ तर कराचीमा ४१ वर्ष पुरानो मस्जिदलाई भत्काउन आदेश दिइन्छ । यहाँ तपाइँ संसदबाट बाहिर निस्किनुस् अनि मैले देखाउँछु कि कति भवन छन् जो गैर कानुनी तरिकाले बनेका छन् । यदि मस्जिद शहीद हुन्छ भने यो सहन सकिने छैन । जनताभित्र पनि यसको विरोध आउनेछ । कराचीभित्र निकै ठूलो समस्या उत्पन्न हुनेछ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *