गोल्डेन ह्याण्डचेकबाट चाँगुनारायणका ३७ शिक्षक सम्मानित

डिसी नेपाल
१६ पुष २०७८ १९:०५

काठमाडौं ।चाँगुनारायण नगरपालिकाले सेवा निवृत्त गर्न चाहने शिक्षकलाई सम्मान गरेको छ । पालिकाले गोल्डेन ह्याण्डचेकमार्फत सेवाबाट अवकाश लिन चाहने सामुदायिक विद्यालयका शिक्षकलाई नगर शिक्षा शाखाको आयोजनामा सम्मान गरेको हो ।

सम्मानमा नगरपालिकाले शिक्षकलाई एक लाखदेखि चार लाखसम्म नगद र प्रशंसापत्र वितरण गरिएको शिक्षा शाखाले जनाएको छ । शिक्षा शाखाका प्रमुख वीरबहादुर खड्काका अनुसार नगरभित्रका सामुदायिक विद्यालयमा सेवा दिँदै आएका शिक्षकलाई गोल्डेन ह्याण्डचेकको व्यवस्था गरिएको र सोही सुविधामार्फत सेवाबाट अवकाश लिन चाहने शिक्षकलाई सम्मान गरिएको हो । उनले नगरभित्रका सामुदायिक विद्यालयबाट ३७ जना शिक्षकलाई सम्मान गरेको बताए ।

नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्रले नयाँ पुस्तालाई रोजगारीको अवसर दिन र पुराना पुस्ताका शिक्षकलाई सम्मानका साथ बिदाइ गर्नको लागि सो कार्यक्रमको व्यवस्था गरिएको बताए । उनका अनुसार शिक्षा समयानुसार परिवर्तन हुनुपर्ने र सोही अनुरूप नयाँ पुस्तामा नयाँ प्रविधिको पहुँच हुने, नयाँ शिक्षा हुने भएकोले उनीहरूलाई शिक्षा क्षेत्रमा ल्याउनको लागि पालिकाले सो कार्यक्रमको व्यवस्था गरिएको हो ।

उनले शिक्षक समाजका सम्मानजनक व्यक्तित्व भएकोले अवकाशपछि पनि समाजमा सामाजिक र मानवीय सेवा गर्न अनुरोध गरे । कार्यक्रमको लागि पालिकाले आन्तरिक स्रोतमार्फत १ करोड २५ लाख ६० हजार रुपैयाँको बजेट व्यवस्था गरिएको मिश्रले बताए ।नगरपालिकाका प्रमुख प्रशासकीय अग्निप्रसाद अधिकारीले अवकाश लिएका शिक्षकले सेवाबाट अवकाश लिएता पनि नगरपालिका र समाजमा आवश्यकता अनुसार सल्लाहसुझाव प्राप्त हुने विश्वास व्यक्त गरे ।

नगरपालिकाले दिएको सो सम्मानले शिक्षकहरूले प्रशंसा गरेका छन् । पञ्चकन्या माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक तथा शिक्षक सन्तराम दुलालले नगरपालिकाले दिएको सम्मानबाट आफू खुसी भएको बताए । उनले विद्यालयको स्थापनादेखि हालसम्म शिक्षण पेसासँगै विद्यालयको शैक्षिक तथा भौतिक पक्षको विकासको लागि सधैँ लागिपरेको र सोको मूल्यांकन नगरपालिकाले गरेको बताए । उनले पालिकाले ल्याएको कार्यक्रम राम्रो रहेको र अवकाश लिएको शिक्षकको स्थानमा चाँडै नयाँ पुस्ताका शिक्षकहरूको व्यवस्था गर्न पालिकासँग आग्रह गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *