हिमपातले भोजपुरका माथिल्लो भेगका कृषक उत्साहित

डिसी नेपाल
१७ पुष २०७८ १०:२३

काठमाडौं।भोजपुरको माथिल्लो क्षेत्रमा बाक्लो हिमापात भएपछि जनजीवन केही प्रभावित बनेको छ । माथिल्लो क्षेत्रको अधिकांश भेगमा बाक्लो हिउँ परेको छ । यहाँका पर्यटकीय क्षेत्र सुन्तले, बाघखोर, धापखर्क, मैयुङडाँडा, टेम्के डाँडा, चखेवा भज्ञ्याङलगायत ठाउँमा एकदेखि दुई फिटसम्म हिउँ परेको स्थानीयवासीले बताएका छन् ।

लामो समयपछि हिउँ र पानी परेकाले किसान भने उत्साहित बनेका छन् । आलु र मकै रोप्नको लागि जमिन तयार गर्ने समयमा हिउँसँगै पानी आएकाले खेतीपाती गर्नको लागि सहज भएको टेम्केमैयुङ–५ मझौलेका कृषक लाक्पादोर्ची शेर्पाले बताए । स्थानीयवासी शेर्पाले भने, “हिमपातका कारण चिसो बढ्दा जनजीवन प्रभावित भएको छ तर हामी किसानलाई भने धेरै फाइदा पुगेको छ । अब आलु, मकै रोप्ने बेला भयो यसले हामीलाई राम्रो भएको छ ।”

केही दिनयता मौसममा परिवर्तन भएर आएको हिउँ र पानीका कारण चिसो बढ्दा चौपायालाई बचाउन समस्या भएको स्थानीय शिवकुमार विष्टले बताए। त्यस्तै केटाकेटी तथा वृद्धवृद्धा चिसोको प्रत्यक्ष मारमा परेको उनको भनाइ छ । विष्टले भने, “हिमपातका कारण धेरै चिसो बढेको छ । अरुभन्दा पनि बालबच्चा केटाकेटी, वृद्धवृद्धा र पशुचौपायालाई धेरै समस्या छ ।”

चिसो बढेपछि सदरमुकाम र आसपासका स्थानीय बासिन्दालाई घर बाहिर निस्किन समस्या भएको बताउने गरेका छन् । हिउँ परेसँगै हिउँ खेल्न आउनेको सङ्ख्या बढेपछि सुन्तले, चखेवा, बाघखोरलगायतका ठाउँमा सञ्चालनमा रहेका होटल तथा पसलमा मानिसको चाप बढेको छ । दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक आउने गरेको बाघखोरका होटल व्यवसायी गणेशकुमार तामाङले बताए । उनले भने, “हिउँपरेपछि यहाँ घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । व्यवसायमा टेवा पुगेको छ ।”
–––




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *