किम कार्दाशियाँले आवाज उठाइदिएपछि ड्राइभरको जेल सजाय १०० वर्ष घटाइयो

डिसी नेपाल
१७ पुष २०७८ १३:५७
11.7k
Shares

काठमाडौं। अमेरिकामा एक ट्रक ड्राइभरलाई ११० वर्ष जेल सजाय सुनाइएको थियो । तर, अब उनको सजाय घटाएर अब १० वर्ष मात्रै कायम गरिएको छ । यी ट्रक ड्राइभरमाथि आफ्नो ट्रकले २५ अप्रिल २०१९ का दिन २ दर्जन भन्दा धेरै वाहनहरुलाई ठक्कर दिएको आरोप थियो । यो दुर्घटनामा ४ जनाको मृत्यु भएको थियो । ट्रकको ब्रेक फेल भएका कारण यो दुर्घटना भएको थियो ।

घटनापछि ट्रक ड्राइभर रोगेल अगुइलेरा मेदेरोसलाई ११० वर्षको जेल सजाय सुनाइएको थियो । तर, उनलाई दिइएको सजाय विरुद्ध र उनको रिहाइको पक्षमा सामाजिक संजालमा अभियान चलाइयो । यो अभियानमा हलिउड सेलिब्रेटी किम कार्दाशियाँले पनि ठूलो आवाज उठाएकी थिइन् । किमले ड्राइभरको रिहाइको पक्षमा आवाज उठाउँदै लगातार ट्वीट गरेकी थिइन् । यससँगै कोलोराडोका गभर्न जारेद पोलिसले उनको सजाय घटाएर १० वर्ष मात्र कायम गरिदिएका छन् । किमले लगातार पहिले दिइएको सजायको विरोध गर्दै आएकी थिइन् ।

ड्राइभरको सजाय घटाइएपछि किमले ट्वीटरबाट नै गभर्नरलाई धन्यवाद दिएकी छिन् । बिहीबार यसबारेमा गभर्नर पोलिसको तर्फबाट आदेश जारी गरिएको हो । चेन्ज डट ओआरजीमा पनि ड्राइभरलाई दिइएको सजायको विरोधमा अभियान सुरु गरिएको थियो । यसमा ५ मिलियन भन्दा धेरै व्यक्तिहरुले ड्राइभरलाई दिइएको सजाय घटाउनुपर्ने पक्षमा आफ्नो समर्थन दिइसकेका छन् ।

डेलीमेलका अनुसार जब यी ड्राइभरलाई सजाय सुनाइएको थियो त्यतिबेला उनीविरुद्ध २७ वटा छुट्टाछुट्टै आरोप लगाइएका थिए । आफूलाई सजाय सुनाइँदै गर्दा यी ड्राइभरले पीडित परिवारसँग माफी पनि मागेका थिए । त्यतिबेला उनले यो सडक दुर्घटना गल्तीवश भएको बताएका थिए । ड्राइभर मेदेरोसकी आमाले पनि लगातार आफ्नो छोरा निर्दोष भएको बताउँदै आएकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *